‘बिरामीको सेवामा लाग्न पाउँदा आनन्द अनुभूति हुन्छ’
काभ्रेपलाञ्चोक मण्डन देउपुरकी कृपा पौडेल हाल मेट्रो काठमाडौँ अस्पतालमा क्रिटिकल केयर विभागमा कार्यरत छिन् । यसपालिकाे नर्सको कुरामा उनै कृपाका कुरा–
सानोमा नर्सले लगाउने पोशाक देखेर आकर्षित हुन्थेँ। अर्को कुरा मेरो गाउँमा अस्पताल थिएन। उपचारका लागि टाढा जानुपर्थ्याे। त्यसले पनि मलाई ठूलो भए पछि स्वास्थ्य क्षेत्रमा लाग्नुपर्छ र दूर दराजमा पुगेर सेवा गर्नुपर्छ भन्ने भावना जगायो।
विद्यासदन इङ्लिस बोर्डिङ स्कुलबाट २०६८ सालमा एसएलसी सकेपछि प्लस टुमा विज्ञान पढेँ। २०७१ मा १२ सकेपछि नर्सिङ क्षेत्रमा अघि बढ्ने सोच आयो। त्यसलाई मेरो परिवारले पूर्णरूपमा साथ दियो। एभरेष्ट कलेज अफ नर्सिङ तीनकुनेबाट यसैवर्ष बीएस्सी नर्सिङ पूरा गरेँ।
स्नातक सकेपछि केही समय हेल्पिङ हेण्ड हस्पिटलमा इन्टर्नसिप गरेँ। गत कार्तिकदेखि म मेट्रो अस्पतालको क्रिटिकल केयर विभागमा कार्यरत छु ।
म यो सेवामा लागेको धेरै नभए पनि अहिलेसम्म मैले सिकेको अस्पताल डाक्टरको उपचार नर्सको सेवाले बिरामीहरूले नयाँ जीवन प्राप्त गर्ने ठाउँ हो। डाक्टर र नर्सको सहकार्यविना कुनै पनि अस्पातालको उपचार सहज हुँदैन। अझ मैले काम गर्ने क्रिटिकल केयर त निकै संवेदनशील विभाग हो।
अस्पतालमा आएर हाम्रो सेवापश्चात् निको भएर गएको देख्दा निकै आनन्द आउँछ। राम्रो पेशामा लागेछुजस्तो लाग्छ। आफूप्रति गर्व लाग्छ। अनेक प्रयास गर्दा पनि सफल नभई बिरामीको मृत्यु हुँदा ज्यादै नरमाइलो महशुस हुन्छ।
धेरैजसो बिरामी र तिनका आफन्तसँग हामी परिवारको सदस्यजस्तै बनेका हुन्छौँ। कुनै कुनै बिरामीका परिवार अलि नबुझ्ने किसिमका हुन्छन्। नर्स भएको नाताले हामीले परिस्थितिलाई सहज बनाएर उनीहरूसँग कुरा गर्छौँ। एकातिर मानवसेवाको काम अर्कोतिर आफूले रोजेको पेशा भएकाले म यसप्रति पूर्णरूपमा सन्तुष्ट छु।




जनावरको टोकाइबाट यसरी बच्नुस्, टोकिहाले अपनाउनुस् यी उपाय
जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त