असार १५ मा खाईने दही चिउराको महत्त्व

नेपालमा मनाईने वैदिक सनातन धर्म भित्रका जति पनि सांस्कृतिक पर्वहरु छन् । ती सबैको आ आफ्नै वैज्ञानिक महत्त्व रहेको छ । विशेष गरि असार १५ मा खाईने दही , चिउराको पनि विशेष महत्व रहेको छ । वैदिक चिकित्सा विज्ञान आयुर्वेदले दहि चिउरा खानुको महत्त्व लाई यसरी उल्लेख गरेको छ । भोजनान्ते पिबत् तक्रं वैद्यस्य कि प्रयोजनम् अर्थात् हामीले भोजनको अन्त्यमा दही मथेर बनाएको मोहि पिएमा औषधी उपचारका लागि वैद्यर स्वास्थ्यकर्मीमा जान नपर्ने भनिएको छ ।
यसर्थ आयुर्वेद अनुसार दहीमा पाचक शक्ति बढाउने , अबिष्यन्दि , पित्तबर्धक, बल बर्धक, मुत्रशायमा भएको बिकार नाशक ,बोसो उत्पादक, कफ उत्पादक , वात बिकार नाशक , दहि पचे रक्त पित्तलाई समेत ठिक गर्ने गुण भएको ले खाना खाएर बन्ने आम रसलाई समेत पचाई पाचक अग्नि लाई बढाउँदछ। र मत्रकृच्छ ( पिसाव गर्दा पोल्ने ) , चिसोबाट हुने विषम ज्वर , अतिसार ( झाडा पखाला) , आमाशय सुन्निएको , खाना खाएको नपचि पातलो दिसा आउने समस्या र डकार आउने समस्या मा समेत रामवाण समान मानिन्छ । साथै दहिले रगतलाई निरन्तर सक्रिय बनाई राख्न समेत मद्दत गर्दछ । आयुर्वेदको ऋतुचर्या अनुसार दहिलाई हेमन्त ,शिशिर र वर्षा ऋतुमा खानु उत्तम, स्वस्थ्यकर र पथ्य मानेको छ । यस ऋतुमा खाएको दहीले मानिसको शरीरलाई बलियो र चम्किलो बनाउने बताएको छ ।
पोषण विज्ञानको दृष्टिकोणले दहीलाई स्वास्थ्यबर्धक मानेको छ । दहिमा विशेष गरि क्याल्सियम , भिडामिन बी २, भिटामिन बी १२, भिटामिन डी , पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वले भरिपुर्ण भएको मानिन्छ । बिशेष गरि दहिमा प्रोबायोटिक्स भनेर चिनिने गुणकारी ब्याक्टेरिया पाईन्छ । उक्त ब्याक्टेरियाले हाम्रो पाचन प्रणालीलाई सहि र स्वस्थ्य राख्दछ । यो ब्याक्टेरियाले हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन , शरीरमा अनावश्यक तौल बढ्न नदिन , झाडापखला लाग्न नदिन, कब्जियत हुन नदिन र आन्द्रामा हुने क्यान्सरको खतरालाई समेत रोक्न सक्ने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।
यसर्थ हाम्रो प्राचीन वैदिक कालका ऋषिमुनिहरुले दहीलाई बर्षा ऋतुमा नै खानु उत्तम र स्वस्थ्यकर मानेका छन् । यसकारण वैदिक सनातन धर्मले असार १५ अर्थात दही चिउरा खाने दिनलाई सांस्कृतिक पर्वको रुोमा बिकास गरेको पाईन्छ । हाम्रो देश कृषि प्रधान भएकोले यस वर्षा ऋतुमा धान वाली लगाउने मानो खाएर मुरि उब्जाउने भनि खेतबारी मा गई धान रोपाइँ गर्ने प्रचलन छ । यसै असार १५ मा नेपाली कृषकहरुले धान रोपाइँ को मैजारो गरेको खुसियालीको रुपमा दहि र चिउरा खाने गरेको पाईन्छ । यसरी यस असार १५ मा दहि र चिउरा खानु को पछाडी बिज्ञान लुकेको छ । यस वर्षा ऋतुमा पानीको मुलहरु दुषित हुने र उक्त पानी हामीले खाएमा झाडा पखाला , शरिरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुने देखि लिएर पिसाब संक्रमण हुने जस्ता समस्याहरु देखिन्छ ।
यसर्थ यस्तो अबस्थामा दही र चिउरा खाएमा दहिमा हुने स्वस्थ्य बर्धक गुण हरु र यसमा भएको प्रोबायोटिक्स नामक ब्याक्टेरियाले लाभ गर्दछ । यस बेलामा कृषकहरु खेताबारीको कामले गर्दा शरिर कमजोर भई थकित भएका हुन्छन् यस्तो बेला दहि र चिउरा खानाले शरिरमा स्फुर्ति र तागत पानी आउँदन्। यसकारण दहिलाई एक स्वस्थ्य बर्धक आहारको रुपमा मान्न सकिन्छ ।यसरी हाम्रो वैदिक सनातन धर्म भित्रका जति पनि मौलिक चाडपर्वहरु र त्यसबेला खाईने आहारहरु लाई बिज्ञान सम्वत मान्न सकिन्छ । यो असार १५ मा खाईने दही र चिउरा खानु एक सांस्कृतिक पर्व मात्र नभएर यस बेला कृषकहरू मा देखिने स्वास्थ्य समस्याहरु बाट छुटकारा पाउने एक उपचारात्मक चिकित्सा पद्धति कै रुपमा समेत असार १५ लाई मान्न सकिन्छ ।
(बस्नेत पतंजली आयुर्वेद मेडिकल कलेज धुलिखेलमा आयुर्वेद चिकित्सा शास्त्र बिषयमा अध्ययनरत छन् ।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै