आफ्नै उपभोक्ता मार्ने सुर्तीजन्य पदार्थ, किन हुन सकेन नियन्त्रण ?

आफ्नै उपभोक्ता मार्ने सुर्तीजन्य पदार्थ, किन हुन सकेन नियन्त्रण ?

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। तर पनि सरकार मुकदर्शक बनेर बसेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार नेपालमा वर्षेनी सुर्तीजन्य पदार्थको सेवनका कारण हुने क्यान्सर, दम, मुटुरोग जस्ता दीर्घ रोगका कारण २७ हजार १३७ जनाको ज्यान जाने गरेको छ । यो संख्या निकै ठूलो हो । यो मृत्यु नेपालमा हुने सबै खालका मृत्यको १४ दशमलब ९ प्रतिशत हो । यसको सेवनलाई कम गराएर वा रोकेर यो मृत्यु रोक्न वा कम गर्न सकिन्छ । सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युलाई असमायिक मृत्यु मानिन्छ ।

अधिकांश क्यान्सर सुर्तीजन्य पदार्थको सेवनले हुन्छ । हेड एण्ड नेक क्यान्सर हुनेमध्ये ९० प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता देखिएका छन् भने फोक्सोको क्यान्सरको ९० प्रतिशतभन्दा बढी कारण पनि सुर्तीजन्य पदार्थ नै हो । नेपालमा धेरैमा देखिने दम, यसको जटिलता र मृत्यु पनि सुर्तीजन्य पदार्थको सेवनले नै हुन्छ। मुटुरोगको प्रमुख कारण पनि धुम्रपानलाई लिइन्छ । धुम्रपान गर्नेमा नगर्नेको तुलनामा ८ गुणाले बढी जोखिम हुने विज्ञहरु बताउँछन्। अझ यसले सेवनकर्तालाई मात्र होइन सँगै बस्नेलाई समेत असर गरिरहेको हुन्छ ।

ऐनमा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि निकै राम्रा व्यवस्था गरिएका छन्। सो ऐन मात्र पूर्ण रुपमा कार्यान्वयन हुने हो भने धेरै हदसम्म रोगको भार कम भई यसबाट हुने मृत्यु पनि कम गर्न सकिन्छ । तर १२ वर्ष अघि ल्याएको उक्त कानून कार्यान्वयनमा सरकार उदासिन देखिएको छ । जसले गर्दा देशमा सुर्ती उद्योगीको चलखेल बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा २८ दशमलब ९ प्रतिशत १५ देखि ६९ वर्षका व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गरेको पाइन्छ । यसमा ४८ दशमलब ३ प्रतिशत पुरुष सेवनकर्ता छन् भने ११ दशमलब ६ प्रतिशत महिला रहेका छन्। पछिल्लो समय शहरी क्षेत्रमा महिला सेवनकर्ताको संख्या बढ्दै गएको पाइन्छ ।

धेरैको ज्यान लिने सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि भन्दै सरकारले १२ वर्षअघि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन -२०६८ ल्याएको थियो । जुन ऐनमा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि निकै राम्रा व्यवस्था गरिएका छन्। सो ऐन मात्र पूर्ण रुपमा कार्यान्वयन हुने हो भने धेरै हदसम्म रोगको भार कम भई यसबाट हुने मृत्यु पनि कम गर्न सकिन्छ । तर १२ वर्ष अघि ल्याएको उक्त कानून कार्यान्वयनमा सरकार उदासिन देखिएको छ । जसले गर्दा देशमा सुर्ती उद्योगीको चलखेल बढ्दो छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न बनेको कानून उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वयन पक्ष फितलो हुँदा यसको सेवनबाट हुने जोखिम र मृत्युलाई कम गर्न सकिएको छैन । कानून बनेको १२ वर्ष बितिसक्दा पनि अझै पनि यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु बिडम्बनाको कुरा हो ।

नेपालमा उत्कृष्ट कानून बनाएको र पहिलोपटक सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने पहिलो देश बनेको भन्दै नेपालले एक लाख अमेरिकी डलरको अन्तराष्ट्रिय ब्लुमबर्ग अवार्ड समेत पाएको थियो । तर त्यही पुरस्कारले अहिले नेपाललाई गिज्याइरहेको छ । किनकी जुन कारणले नेपालले अन्तराष्ट्रिय अवार्ड पायो त्यही व्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन् ।

आफनै ५० प्रतिशत उपभोक्ता मार्ने वैधानिक हत्यारा मानिएको सुर्तीजन्य पदार्थको नियन्त्रणमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेज तथा पार्सलको प्याकेजिब र लेबलको बाहिरी भागमध्ये कम्तीमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने जस्ता व्यहोराको चेतनामूलक सन्देश र यसको सेवनको असरबाट भएको घातक रंगीन चित्र अंकित गर्नुपर्ने भए पनि यो कानून नेपालकै ठूलो उद्योग सुर्य नेपालले हालसम्म लागू गरेको छैन्। यसमा सरकार मौन छ । विश्वका अधिकांश देशहरू प्लेन प्योकिजिङमा गइसके तर नेपाल उत्कृष्ट नीति बनाएर पनि कार्यान्वय गर्न नसक्ने अवस्थामा रहेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण ऐन, कानून, कार्य- निर्देशिका र रणनीति के कस्ता छन् ?

सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) ऐन, २०६८
सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) नियमावली, २०६८
सुर्तीजन्य पदार्थको उत्पादन (नियन्त्रण र नियमन) निर्देशिका, २०७१
सुर्तीजन्य बस्तुको वक्स, पाकेट, खोल, कार्टुन, पार्सल र प्याकेजिङमा चेतावनीका सन्देश र फोटो प्रिन्ट गर्ने र टाँस गर्ने सम्बन्धी निर्देशिका, २०६८ (संसोधन सहित)
सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि २०३० रणनीति

के छ त कानूनमा ?

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने उल्लेख छ । सरकारी निकाय, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, स्वास्थ्य सम्बन्धी संस्था, बाल कल्याण् गृह, शिशु स्याहार केन्द्र, वृद्धाआश्रम, अनाथालय, उद्यान, क्लब सार्वजनिक शौचालय लगायतका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न कानूनले बन्देज लगाएको छ ।

तर व्यवहारमा यो कानून लागू भएको देखिंदैन । यी सार्वजनिक स्थलमा जताततै चुुरोटको धुवाँ उडाउँदै हिंडेको पाइन्छ । सोही ऐनमा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने व्यवस्था राखिएको छ । तर विभिन्न खेलकुद तथा म्युजिक अवार्डहरुमा खुलेआम चुरोटको विज्ञापन तथा प्रायोजन देख्न सकिन्छ ।

यसैगरी यसको बिक्री वितरण तथा प्रदर्शनमा बन्देजको व्यवस्था गरिएको छ । जसमा अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन भन्ने व्यवस्था उल्लेख गरिएको छ । तर अहिले पनि निर्वाध रुपमा जो कोहीले पनि सजिलै सुर्तीजन्य पदार्थ किन्ने गरेको पाइएको छ ।

कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन भन्ने व्यवस्था छ । तर अस्पतालकै छेवैमा  बेचिन्छ सुर्तीजन्य पदार्थ ।

फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ । तर यस विपरीत मानिसहरुले सुर्तीजन्य पदार्थको बिक्री वितरण गरिएको पाइन्छ ।

कसैले पनि सूर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्रीस्थल सजावट गर्न तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न पाउने छैन भन्ने समेत ऐनमा व्यवस्था छ ।

यति राम्रो कानून हुँदाहुँदै पनि सरकारले यसको कार्यान्वयनमा चासो नदिंदा रोक्न सकिने मृत्युलाई पनि रोक्न सकिएको छैन् । आफनै ५० प्रतिशत उपभोक्ता मार्ने वैधानिक हत्यारा मानिएको सुर्तीजन्य पदार्थको नियन्त्रणमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

 

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?