प्याथोलोजी : बिरामीकाे रोग पहिचान गर्ने पद्धति

कुनै पनि रोग लागेपछि त्यसको उपचार गर्न कुन समस्या हो भन्ने एकीन हुन आवश्यक छ। त्यसपछि मात्र त्यसको उपचार सही दिशामा जान्छ। बिरामीको समस्या पत्ता लगाउने यही विधिलाई नै प्याथोलोजी भनिन्छ। प्याथोलोजी भनेको ‘स्टडी अफ डिजिजेज’ अर्थात् रोग पहिचान गर्ने पद्धति हो।
प्याथोलोजीमा बिरामीको शरीरको कुनै पनि भाग (र्याल,रगत, मासु) आदि ल्याब टेस्ट हुन्छ। यसले रोग प्रमाणित गर्ने मात्र होइन उपचारका क्रममा निगरानी समेत गर्छ। उपचारले निको भइरहेको छ छैन भने पनि टेस्टपछि पत्ता लाग्छ। त्यसैले पनि गुणस्तरीय स्वास्थ्योपचारका लागि प्याथोलोजीलाई महत्त्वपूर्ण मानिएको छ।
झट्ट हेर्दा कुनै पनि बिरामीको उपचारमा फिजिसियन वा सर्जन अगाडि देखिए पनि प्याथोलोजिष्ट र रेडियोलोजिष्ट को भूमिका महत्त्वपूर्ण हुन्छ। रेडियोलोजी भनेको अल्ट्रासाउण्ड, यूसएजी आदिबाट रोगको पहिचान गर्ने पद्धति हो।
ल्याबका सम्पूर्ण टेस्टसहित प्याथोलोजीमा अन्य थुप्रै शाखा छन्, साइटोलोजी (एफएनएसी), प्याप्समेयर, हिस्टोप्याथोलोजी आदि। रोग पहिचानमा यी सबैको अलगअलग भूमिका हुन्छ। यी जाँचले बिरामीको सही उपचारसम्म पुग्न मद्दत गर्छ।
शरीरको कुनै पनि अंगमा गाँठागुँठी आएको केसमा ‘साइटालोजी’ जाँचबाट समस्या पत्ता लगाइन्छ। विशेषगरी घाँटीको समस्यामा, जस्तै, थाइराइड बढेको, र्याल ग्रन्थी बढेको आदि समस्यामा यो पद्धतिबाट रोग पहिचान गरिन्छ। यसमा सिरिञ्जबाट पानी निकालेर सेलको जाँच गर्छौँ। ट्युमर, क्यान्सर आदि पनि यसै पद्धतिबाट पत्ता लाग्छ। कुन किसिमको वा कुन तहको क्यान्सर भन्ने पहिचान हुन्छ।
‘हिस्टोप्याथोलोजी’बाट अप्रेसन गरेर वा बायोप्सी गरेर निकालिएको टिस्युको अध्ययन गरेर रोग पत्ता लगाइन्छ। अप्रेसनअघि कुनै पनि अंगको मासुको टुक्रा निकालेर कुन उपचारमा जाने भन्ने तय ‘बायोप्सी’ परीक्षणले गर्छ। कलेजो, पित्तको थैली, एपेण्डिक्स आदिमा बायोप्सी गरिन्छ।
ट्युमर शरीरमा अनावश्यक सेल बढेर हुन्छ। यो दुई प्रकारको हुन्छ बिनाइन र मेलिनन। बेनाइन ट्युमर भनेको अर्को अंगलाई प्रभाव नपार्ने किसिमको हुन्छ। मेलिनन ट्युमरले अर्को अंगलाई समेत प्रभाव पार्छ। यसलाई एफएनएसीको सहायताबाट पहिचान गर्न सकिन्छ।
क्यान्सर पत्ता लगाउन पाठेघरको मुखबाट ‘स्याम्पल’ निकालेर जाँच्ने पद्धतिलाई ‘प्याप स्मेयर’ भनिन्छ। नियमित जाँचेर चाँडै पाठेघर क्यान्सर पत्ता लगाउन सके समयमै उपचार गर्न सकिन्छ।
कुनै पनि रोगको डाइगनोसिसको क्रममा उपचार गर्ने चिकित्सक र बिरामीसँग हामी निरन्तर सल्लाह गरिरहेका हुन्छाैँ। हाम्रो सहयोगविना उपचार सहज हुँदैन। चिकित्सक र बिरामीको सहयोगविना हाम्रो जाँच सहज हुँदैन। ‘टिमवर्क’मा रहेर मात्र राम्रो परिणाम आउँछ।
हेर्नुहाेस् भिडियाे :
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा