कोभिड भएर निको भएकाहरुमा कपाल झर्ने समस्या

सामान्यतया हामी सबैको कपाल अलि अलि झर्ने गर्छ । यसलाइ सामान्य मानिन्छ । तर स्याहार गर्दा गर्दै पनि सामान्य अवस्था भन्दा बढी कपाल झर्छ भने त्यो कुनै समस्याका कारण हुनसक्छ भन्ने कुरा ख्याल गर्न जरुरी हुन्छ । नेपालमा कोरोना महामारी शुरु भए यता कपाल झर्ने समस्या विशेष गरी महिलाहरुमा बढी देखिन थालेको छ । कोरोनाको पहिलो लहरमा त्यति धेरै समस्या नदेखिएको भए पनि कोरोनाको दोस्रो लहरमा भने कपाल झर्ने समस्या लिएर आउनेको संख्या बढ्दो छ ।
अहिले कोरोनाबाट संक्रमित भएर निको भइसकेकाहरुमा यो समस्या ‘पोष्ट कोभिड समस्या’ कै रुपमा देखिएको छ । यसमा पनि संक्रमणमा परेर अस्पताल भर्ना हुन परेका वा अक्सिजनको सपोर्ट लिन परेकाहरुमा यो समस्या बढी देखिएको छ । योवीचमा हरेक दिन महिलाहरू कपाल झर्ने समस्या लिएर आउने गरेको र उनीहरुको हिस्ट्री लिंदा कोरोनाको संक्रमणमा परेर निको भएको पाइएको छ ।
कोभिडको असर कपालमा कसरी पर्यो भन्ने धेरैको जिज्ञासा हुनसक्छ । यसको सिधै असर नपरे पनि कोरोना भाइरसको संक्रमणले शरीरमा अक्सिजन कम हुँदा त्यसले कपाललाई पनि असर परेको देखिन्छ । अर्को कुरा कोरोना संक्रमणमा परिसकेपछिको तनाव पनि कपाल झर्ने अर्को समस्याका रुपमा रहेको पाइएको छ । कोरोना संक्रमण भए पनि घर परिवारलाई सर्छ की भन्ने एकातिर तनाव हुन्छ भने यसले दिने शारीरिक दुखाईले पनि मानिस तनावमा रहन्छ । यसको असर कपालमा पनि पर्न जान्छ ।
यहाँहरुलाई थाहा नै छ सामान्यतया तनाव धेरै लिनेको कपाल छिटै र धेरै झर्ने गर्छ । काेराेना हुँदा धेरैलाई श्वासप्रश्वासमा समेत समस्या भइरहेको हुन्छ । यसले एकातिर शरीरमा अक्सिजनको कमी र अर्कोतिर अनिद्रा पनि हुन्छ । अनिद्रा पनि कपाल झर्ने मुख्य कारण मै पर्छ । त्यसैले कपाल झर्ने धेरै कारणहरु कोभिडका बेला एकैपटक आउने हुँदा अहिले आएर यो समस्या टड्कारो रुपमा देखिन थालेको छ। कति त डाक्टरसाब म तालु नै हुन्छु कि क्याहो भनेर आइरहेका छन्। यो बेला कपालको खासै स्याहार पनि हुँदैन। । यो बेला शरीरमा रहेको प्रोटिन, भिटामिन एवम माइक्रो न्युट्रेन्टहरुको पनि कमी भइरहेको हुन्छ । जसका कारण कपालको जरा पनि कमजोर बन्न जान्छ र झर्न थाल्छ ।
याे बेला शरीरमा जाँच गर्दा सबै तत्व नर्मल छ । तर पनि कपाल झर्नु भनेको कोभिडकाे कारण होकी भन्ने जान्न जरुरी छ । कोभिड लागेको लगभग एक डेढ महिनापछि कपाल झर्न सुरु हुन्छ । जुन ६ महिनापछि आफै कम हुँदै जान्छ । त्यसैले डराउन पर्दैन्। यो बेला कपालको धेरै नै स्याहार गर्न भने जरुरी हुन्छ । कपाल भिजेको बेलामा नकोर्ने, तेल लगाउने, हल्का काइँयोले कोर्ने , कपालमा हेयर ड्रायर प्रयोग नगरी रुम टेम्प्रेचरमा सुक्न दिन पर्छ ।
यो बेला औषधि प्रयोग गर्ने भन्दा पनि सामान्य स्याहार गरेमा यो आफै निको हुने समस्या हो । तर यो बेला कपालको जरा कमजोर हुने हुँदा बेस्सरी तान्ने, बारम्बार काइँयो लगाउने, कलर लगाउने गर्न हुँदैन्। यति हुँदा पनि कपाल झर्ने राेकिएन भने डाक्टरलाइ देखाउँदा उत्तम हुन्छ ।
वरिष्ठ छालारोग विशेषज्ञ प्राडा धर्मेन्द्र कर्णसँग कुराकानीमा आधारित :
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा