मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण

हेल्थ टिभी अनलाइन : मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने विज्ञहरुले बताएका छन् । अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर मिडवाइफ्री सोसाइटी अफ नेपालले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै सोसाइटीकी अध्यक्ष प्राध्यापक गोमा निरौलाले सम्मानजनक प्रसुती तथा मातृ र नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने भन्दै मिडवाइफ्री शिक्षा तथा जनशक्तिमा ध्यान दिनपर्नेमा जोड दिइन । उनले मिडवाइफ्री सेवा राम्रो भएका देशमा मातृ मृत्युदर असाध्यै कम भएको भन्दै नेपालमा पनि यसम ध्यान दिन सके धेरै आमा र बच्चाको ज्यान जोगाउन सकिने बताइन ।
यसैगरी कार्यक्रममा परोपकार प्रसुती तथा स्त्री अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले सुत्केरी केसमा डाक्टरले जटिल केस मात्र ह्यान्डल गर्ने र नर्मल डेलिभरीको काम मिडवाइफले गर्नुपर्नेमा अहिले नेपालम सबै केस डाक्टरकोमा आउने गरेको र यसले अस्पतालमा बढी भिडभाड हुने गरेको जिकीर गरे । उनले भने, नर्मल डेलिभरीका लागि डाक्टर चाहिंदैन, मिडवाइफले नै उत्कृष्ट सेवा दिन सक्छन् । उनले आमा र बच्चाको लागि स्थानीय निकायका गाउँ गाउँसम्म पीसीएल मिडवाइफ पठाउन आवश्यक रहेको समेत जनाए । यसरी गाउँमा मिडवाइफ पठाउन सके धेरै हदसम्म मातृ मृत्युदर कम गर्न सकिने पनि उनले जनाए ।
यसैगरी कार्यक्रममा सोसाइटीकी पूर्व अध्यक्ष किरण बज्राचार्यले मिडवाइफले प्रदान गर्ने सेवाको प्रकृतीले गर्दा पर्यावरण मैत्री हुनुका सार्थ जलवायु प्रकोपको अवस्थामा समुदायमा आवश्यक मातृ तथा शिशु सेवा पुर्याउने पहिलो जनशक्ति मिडवाइफ नै रहेको बताइन । उनले जलवायु परिवर्तनको प्रकोपका लागि मिडवाइफ एक महत्वपूर्ण समाधान रहेको बताईन् । समुदायमा आवश्यक पर्ने स्वास्थ्य शिक्षालाई एकिकृत गर्न घर भित्र र बाहिर वायु प्रदुषण कम गर्न धुावा रहित चुलो, पानी संरक्षण विधिहरु, घरमै बनाउने सर्वोत्तम पिठोको बारेमा सशक्तीकरण गरि जलवायु कार्य रणनीतिहरुमा समेत मिडवाइफले टेवा पुराउने उनको भनाई थियो ।
नेपालमा सन् २०१६ देखि मिडवाइफ्री शिक्षा सुरु भएको हो । त्यसयता ६६ जना मिडवाइफले लाइसेन्स लिइसकेका छन् । तर सरकारले मिडवाइफको दरवन्दी खुला नगर्दा उनीहरु सरकारी तहमा मिडवाइफका रुपमा प्रवेश गर्न पाएका छैनन्।
विश्वमा औषत ८०० जना गर्भवती तथा सुत्केरी महिलाको रोकथाम गर्न सकिने कारणहरुले मृत्यु हुने तथ्यांक छ । नेपालमा प्रति लाख जिवित जन्ममा १५१ जना महिलाको मृत्यु हुने गरेको छ। यस मृत्युदरलाई घटाउन मिडवाइफको महत्वपूर्ण भुमिका रहने बताइन्छ । कार्यक्रममा विश्व स्वास्थ्य संगठन र यूएनएफपीएका प्रतिनिधीले मिडवाइफको भूमिकाकाबारेमा चर्चा गरेका थिए ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने