अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ

हेल्थ टिभी अनलाइन : तरकारी तथा फलफूलमा राखिएका अत्यधिक विषादीका कारण क्यान्सर भयावह बन्दै गएको विज्ञहरुले बताएका छन्।
भारतको बेंग्लोरमा रहेको एचसीजी ग्रुप हस्पिटल्सका हेड एण्ड नेक विभागका प्रमुख सर्जिकल अंकोलोजिस्ट डा विशाल रावले विषादीका कारण दिनप्रतिदिन क्यान्सर बढेको बताएका हुन् । डा रावले शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा बोल्दै नेपाल भारत लगायतका देशमा सुर्तीजन्य पदार्थ तथा मद्यपानको सेवन गर्ने बानी नभएका तथा स्वस्थ जीवनशैली अपनाउनेमा पनि क्यान्सर बढ्नुको प्रमुख कारणमध्ये तरकारी तथा फलफूलमा भएको विषादी रहेको जनाएका हुन् । उनले भने, ‘हामीले खाने खानेकुरा खेतदेखि प्लेटसम्म आइपुग्दा पनि स्वस्थ हुन जरुरी हुन्छ तर त्यही हामी चुकिरहेका छौं ।’
उनले तुरुन्त धेरै आम्दानी गर्ने लोभमा किसान तथा व्यापारीहरुले खेतबारीमा हाल्ने विषादीले क्यान्सर बढाएको जिकीर गरे । डा रावले किसान तथा व्यापारीहरु कतिपय अवस्थामा चेतना नभएर यस्तो गरिरहेको हुनसक्ने भन्दै उनीहरुलाई जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको र त्यसका लागि मिडियाले ठूलो भूमिका खेल्न सक्ने बताए ।
डा रावले यही अवस्था रहीरहे र यसको रोकथाममा काम गरिएन भने अबको १० वर्षमा हरेक ३ जनामा एक जनामा क्यान्सर हुनसक्ने अनुमान गरिएको समेत बताए । उनले नेपाल र भारतमा उस्तै प्रकृतिका क्यान्सरका समस्या रहेकाले
नेपाल सरकारसँग मिलेर आफूहरुले क्यान्सरको रोकथाम, उपचारमा संयुक्त रुपमा काम गर्ने पहल सुरु गरेको समेत जानकारी दिए ।
यसैगरी सोही कार्यक्रममा रेडिएसन ओंकोलोजिस्ट डा लोहिथ रेड्डीले क्यान्सर बढेसँगै यसको उपचारमा नयाँ नयाँ प्रविधि समेत आएको जिकीर गरे । उनले अबको केही वर्षमा क्यान्सर उपचार केही सस्तो र अझ बढी व्यक्तिको पहुँचमा हुने समेत जनाए । उनले पश्चिमा देशहरुले आविष्कार गरेका उपकरणहरु र प्रविधिमा भर पर्नुपर्दा उपचार महंगो हुन गएको समेत बताए ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने