नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क प्राप्त गर्ने

हेल्थ टिभी अनलाइन : अबदेखि नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधी निशुल्क प्राप्त गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कम र मध्यम आय भएका देशहरूमा बालबालिकामा हुने क्यान्सरको औषधीमा पहुँच बढाउन सेन्ट जुड्स ग्लोबल र विश्व स्वास्थ्य संगठनको संयुक्त पहल, ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्समा सामेल हुन विश्व स्वास्थ्य संगठनसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै स्वास्थ्य सचिव डा पोखरेलले यो सम्झौताले नेपालमा क्यान्सरको उपचारबाट वञ्चित बालबालिकाको उपचारमा ठूलो योगदान पुर्याउने बताए । सन् २०२४ को तेस्रो त्रैमासिकमा औषधीको पहिलो ब्याच नेपालमा आउने अपेक्षा गरिएको छ र भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पताल गरी यस परियोजनामा आबद्ध भएका चार अस्पतालमा बालबालिकामा हुने क्यान्सरको उपचारका लागि प्रयोग गरिने डा पोखरेलले जानकारी दिए । उनले आवश्यकता अनुसार यस कार्यक्रमलाई बालबालिकामा हुने क्यान्सरको हेरचाहको लागि साझा केन्द्रका रुपमा अन्य अस्पतालहरुमा पनि बिस्तार गरिने जिकीर गरे ।
नेपालमा हरेक वर्ष करिब ९०० बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ । यद्यपि, उपचार तथा सेवाहरूमा सीमित पहुँच र स्रोतको अभावले गर्दा, क्यान्सर भएका बालबालिकाहरू मध्ये एक तिहाइले मात्र उपचार पाउने गरेका छन् यसबाट हुने मृत्यु पनि बढ्दै गएको छ,।
विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले भने, ‘यो नविनतम मञ्चले औषधी उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गरेर क्यान्सर हेरचाहमा पहुँच बढाउन मद्दत गर्नेछ र क्यान्सर भएका बालबालिकाहरूको अत्यावश्यक औषधीहरूमा पहुँच सुनिश्चित गर्नुको साथै क्यान्सर पीडित बालबालिकाका आमाबुवा र परिवारहरूमा पर्ने आर्थिक भार कम गर्न मद्दत गर्नेछ ।’
यस नविनतम पहलमा सहभागी हुनका लागि ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले छनोट गरेका विश्वभरका ६ देशमध्ये नेपाल एक हो ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने