एक वर्षमा ३३ लाख बिरामीको आँखा उपचार, ८ लाख विदेशीले लिए सेवा
आँखा उपचारमा मेडिकल टुरिजमतर्फ अघि बढ्दै नेत्रज्योति संघ

हेल्थ टिभी अनलाइन : नेपाल नेत्रज्योति संघले एक वर्षमा ३३ लाख बढी बिरामीको आँखाको उपचार गरेको छ । सन् २०२३ मा संघले आफना अस्पताल तथा आँखा उपचार केन्द्रहरुबाट ३३ लाख ६ हजार २६ जनाको आँखाको जाँच तथा उपचार गरेको जनाएको हो । यसैगरी २ लाख ६५ हजार ८८५ जनाको आँखाको शल्यक्रिया गरिएको संघका महासचिव भरत बहादुर चन्दले बताए । उनले उपचार सेवा लिएका मध्ये ८ लाख ५ हजार ३१६ जना विदेशी रहेको समेत जानकारी दिए । मंगलबार ४६ औं नेत्रज्योति दिवसको अवसर पारेर आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
विस २०३५ साल चैत १३ गते नेपाली नागरिकलाई सस्तो र सुलभ र गुणस्तरीय आँखा सेवा दिंदै अन्धोपन निवारण गर्ने लक्ष्य लिएर नेत्र ज्योति संघको स्थापना भएको थियो । ४६ वर्षअघि स्थापना भएको यस संघका अहिले २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्रहरु तथा ४३ जिल्ला शाखाहरुका साथै हजारौं स्वयंसेवक तथा कर्मचारी रहेका छन्।
कार्यक्रममा संघका अध्यक्ष प्राडा चेतराज पन्तले नेत्रज्योति संघले सबैको साथ र सहयोगमा यतिसम्म काम गर्न सकेको भन्दै अझै पनि जनमानसमा आँखा उपचार गर्न जानुपर्छ भन्ने चेतनाको कमी भएको जिकीर गरे । उनले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भने, मिडियाले भनेको, लेखेको धेरैकोमा एकैचोटी पुग्छ त्यसैले नेपालमा आँखा सम्बन्धी जनचेतना जगाउन तपाइँहरुको भूमिका महत्वपूर्ण छ । उनले मिडियालाई जनचेतना जगाउने काममा सहयोग गरिदिन आग्रह समेत गरे ।
यसैगरी कार्यक्रममा संघका कार्यकारी निर्देशक शैलेश कुमार मिश्रले नेत्रज्योति संघ आँखा उपचार सेवा दिने सवालमा विश्वकै ठूलो नेटवर्क भएको संस्था भएको बताउँदै अब नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ आफूहरु अघि बढेको बताए । उनले केही देशहरुमा सम्भावना बढिरहेको भन्दै त्यसकै पहिलो खुडकिलो स्वरुप यस वर्ष ४ हजार बंगलादेशी नागरिकले आाखा उपचार सेवा लिन सकेको समेत जानकारी दिए । उनले थाइल्यान्ड, भुटान, बंगलादेश, मलेशिया, ओमान जस्ता देशमा पनि संघले कसरी उनीहरुलाई आँखा उपचारमा ल्याउन सकिन्छ भनेर विभिन्न कार्यक्रम अघि सारेको बताए । उनले भने, ‘बंगलादेशमा त हामीले नेपालबाट गएर आइ क्याम्प नै गरिसक्यौ अब छिटै ओमानमा पनि गर्दैछौं, यसले जहाँ नेपालीहरु छन् उनीहरु भएकै ठाउँमा गएर पनि सेवा दिन सकियोस भन्ने हो ।’
यसका साथै समस्या पत्ता लागेपछि उनीहरु नेपालमा आएर सस्तोमा गुणस्तरीय सेवा लिएर उपचार गर्न सक्छन्। यसरी हामी अब आँखाको उपचारमा नेपालमा मेडिकल टुरिजमको सम्भावनाको खोजीतर्फ लागिरहेका छौं, उनले थपे ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने