नेपालमा प्रत्येक वर्ष थपिन्छन् ७० हजार क्षयरोगी, ४५ प्रतिशत अझै पनि उपचार बाहिर

हेल्थ टिभी अनलाइन : नेपालमा प्रत्येक वर्ष ७० हजारको हाराहारीमा क्षयरोगका नयाँ बिरामी थपिने गरेको विश्व स्वास्थ्य संगठनको अनुमान छ । तर तीमध्ये ४५ प्रतिशतभन्दा बढी बिरामी उपचारभन्दा बाहिर रहेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले अहिले क्षयरोगी मध्ये अझै पनि ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको जिकीर गरे । उनले भने, ‘यही हाम्रा लागि ठूलो चुनौती बनेको छ ।’ उनले ७० हजारमध्ये यस वर्ष जम्मा ३७ हजार ४४७ जना बिरामी मात्र उपचारमा रहेको जिकीर गरे । जसमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् ।
यसैगरी बिरामीहरुमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग भएको पाइएको र अन्य २८ प्रतिशतमा अन्य अंगमा लाग्ने क्षयरोग रहेको समेत डा श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार उपचारमा रहेका बिरामीहरुमध्ये ६८ प्रतिशत बिरामी तीन प्रदेश मधेश, बागमती र लुम्बिनी प्रदेशका छन् । यसको मतलब सबैभन्दा धेरै बिरामी मधेश प्रदेशमा त्यसपछि बागमतीमा र लुम्बिनीमा देखिएको छ उनले थपे ।
डा श्रेष्ठले नेपालमा क्षयरोगको उपचार सफलता दर विश्वका अन्य देशहरु भन्दा उच्च रहे पनि उपचारमा सबैलाई समेट्न नसक्दा समस्या देखिएको बताए । उनले विश्वमा औषधि प्रतिरोधी क्षयरोग को उच्च भार भएका ३० देशहरुमध्ये नेपाल पनि पर्नु चिन्ताको विषय भएको जनाए । क्षयरोग सरुवा रोग भएकाले यसको समयमै निदान र उपचार गर्न जरुरी रहेको भन्दै क्षयरोगका लक्षण भएका र जोखिम समूहमा पर्नेले एकपटक आफनो जाँच गर्न पनि उनले आग्रह गरे ।
सरकारले सुरु गरेकाे क्षयरोग मुक्त नेपाल अभियान मार्फत १२५ स्थानीय तह मार्फत क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज पड्ताल कार्यक्रम गरिरहेको र यसलाई चाँडै सबै स्थानीय तहमा बिस्तार गर्ने सरकारकाे लक्ष्य रहेकाे छ ।
सरकारले सन् २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । यस वर्ष मार्च २४ मा नेपालमा होली पर्व परेकाले आज शुक्रबार नै विश्व क्षयरोग दिवस विशेष कार्यक्रम गरेर मनाइएको छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं’ भन्ने रहेको छ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने