मधुमेह भएकाले छुट्टै किसिमको खाना खानुपर्ने भन्ने हुँदैन

हेल्थ टिभी अनलाइन : मधुमेहको निदान लक्षणको आधारमा हुँदैैन। आफू ठीक छु भन्दैमा मधुमेह ठीक छ भन्ने पनि हुँदैन। त्यसैले कम्तीमा वर्षमा एकपटक मधुमेह जाँच गराउन जरुरी हुन्छ। त्यसैले रोग नभएकाहरुका लागि पनि स्क्रिनिङ क्याम्प, जनचेतनामूलक कार्यक्रम गर्ने गरेका छौँ।
जीवनशैली सही अवस्थामा राखे, खानपानमा ध्यान दिए, तनाव कम गरे मधुमेहको सम्भावना कम हुन्छ। संसारभर ४२ करोडभन्दा बढी मधुमेहका बिरामी छन्। अबको २५ वर्षमा यो संख्या बढेर ६५ करोडभन्दा माथि पुग्ने अनुमान छ। यो संख्या घटाएर ५५ करोडमा पुर्याउने विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्यसम्बन्धी अन्य संघसंस्थाको उद्देश्य छ।नेपालको सन्दर्भमा यकिन तथ्यांक नभए पनि कुल जनसंख्यामध्ये करिब ८।३ प्रतिशत मानिसमा मधुमेहको समस्या रहेको अनुमान छ। जीवनशैलीमा लापरवाहीका कारण मधुमेह पहिलेभन्दा अझ बढ्दै गएको छ तर सँगसँगै यसबारे चेतना पनि बढेको छ। मधुमेह नभए पनि हुनसक्छ भनेर उपचार गराउन आउनेको संख्या बढ्दो छ। तर ग्रामीण क्षेत्रमा मधुमेहको चेतना अझै बढ्न सकेको छैन।
शुरुमै लक्षण नदेखिन पनि सक्ने भएकाले दूर दराजका बिरामी मधुमेहले च्यापिसकेको अवस्थामा आउने गरेका छन्। लगभग साढे २ प्रतिशत बिरामीको अवस्था पहिलोपल्ट जाँच गर्दा नै जटिल हुने गरेको पाइएको छ।
चेतना भए पनि जीवनशैलीका कारण नियन्त्रण गर्न नसकेका, चेतना नै नभएका र कतिपय चेतना भएर पनि आर्थिक अवस्था कमजोर भएका मधुमेहका बिरामीहरु अस्पतालमा आउने गरेका छन्। परिवारमा कसैलाई मधुमेह भएमा, त्यो बिरामीको समस्या मात्र हुँदैन। यो परिवारकै समस्या हुन्छ। मधुमेहका बिरामी ‘डिप्रेसन’मा जाने खतरा पनि भएकाले उनीहरूलाई भिन्न बनाउने काम गर्नु हुँदैन। आर्थिक दृष्टिकोणले पनि मधुमेहका बिरामीलाई सहयोग गर्नुपर्छ। किनभने अरुमा पनि मधुमेह हुने खतरा हुन्छ।
मधुमेह भएका बिरामीमा खानेकुराको भ्रम पनि त्यत्तिकै पाइन्छ। मधुमेह भएकाले छुट्टै किसिमको खाना खानुपर्ने भन्ने हुँदैन। सबैले सन्तुलित आहार नै खानुपर्छ। भात, मैदाबाट बनेका, चिल्लो खानेकुरा कम खानुपर्छ। आफ्नो शरीर हेरेर डाक्टरले भनेअनुसार क्यालोरी मिलाएर खाना खाने गर्नुपर्छ। क्यालोरी र समय मिलाएर खाए मधुमेहका बिरामीले पनि धेरै खानेकुरा खान सक्छन्। किनभने सबैलाई सन्तुलित आहार नै चाहिन्छ।
मधुमेह भइसकेपछि त औषधी उपचार खानपान समलाउने छँदैछ मधुमेह नभएकाले पनि जाँच गराउने र रोग लाग्न नै नदिन खानपान, जीवनशैली नियन्त्रण गर्ने गर्नुपर्छ। नियमित व्यायाम गर्ने, नियमित काम गर्ने र तनाव कम लिँदा मधुमेह लाग्न पाउँदैन र लागिसकेकाको पनि नियन्त्रणमा रहन्छ।
डा अंशुमाली जोशी
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा