Health TV Online
Health TV Online
Health TV Online

क्रिटिकल केयर नर्सको सम्मेलन काठमाडौंमा सम्पन्न : कोभिड महामारीमा उत्कृष्ट सेवा दिएका आइसीयू नर्सलाई सम्मान

क्रिटिकल केयर नर्सको सम्मेलन काठमाडौंमा सम्पन्न : कोभिड महामारीमा उत्कृष्ट सेवा दिएका आइसीयू नर्सलाई सम्मान

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्रिटिकल केयर युनिटमा काम गर्ने नर्सहरुको सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । कोभिड १९ मा क्रिटिकल केयर नर्सहरुको भूमिका नामक सम्मेलन यही डिसेम्बर १८ मा काठमाडौंमा सम्पन्न भएको हो । सम्मेलनको आयोजना क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपालले गरेको हो ।

कोभिड महामारीमा नेपालका नर्सहरुले देखाएको अतुलनीय सेवालाई केन्द्रमा राखेर सम्मेलनमा विविध विषयमा छलफल भएको  क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपालकी महासचिव कविता सिटौलाले बताइन्।  उनले सम्मेलनमा क्रिटिकल केयर सम्बन्धी विविध विषयमा २४ वटा कार्यपत्र प्रस्तुत भएको समेत जिकीर गरिन्। भारत, श्रीलंका लगायतका क्रिटिकल केयर नर्सको सहभागिता रहेको सम्मेलनमा १ सय जनाको उपस्थिती रहेको र एक सय भन्दा बढी भर्चुअल रुपमा जोडिएको बताइएको छ ।

सम्मेलनमा यसपटक आइसीयूमा काम गर्ने नर्सहरुको उच्च मूल्याकंन गर्दै सातवटै प्रदेशका प्रादेशिक अस्पतालका आइसीयूमा काम गर्ने नर्सहरुसँग प्यानल डिस्कसन गरिएको थियो । जसमा उनीहरुले आफूहरुले कोरोना महामारीका बेला आइसीयूमा भोगेका समस्या तथा चुनौतीकाबारेमा अनुभव साट्ने अवसर समेत पाएका थिए, सिटौलाले भनिन।

सम्मेलनमा कोभिड महामारीका बेला आइसीयूमार्फत कोरोना संक्रमितलाई सेवा दिने २५ वटा अस्पताललाई सम्मान गरिएको थियो । उता एशोसिएसनलाई तालिम लगायतका विषयमा सहयोग गर्ने ह्याम्स अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, दया फाउन्डेसन र एनसीसीडीएफलाई सम्मान गरिएको थियो ।

एक जना बिरामीलाई निको बनाएर घर पठाउन नर्स त्यो पनि सिकिस्त बिरामीको हकमा आइसीयू नर्सको ठूलो भूमिका हुने गरे पनि धेरै अवस्थामा सबै श्रेय डाक्टरलाई दिने गरिन्छ । यस्ता कार्यक्रमले नर्सलाई आफनो काममा लागिरहन हौसला मिल्ने त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर यूनिट प्रमुख डा सुवास आचार्यको बुझाई छ । उनले भने, ‘कोभिड महामारीका बेला हाम्रा नर्सले जसरी काम गरे त्यो अतुलनीय छ, म त भन्छु उनीहरुलाई सरकारले सम्मान गर्न जरुरी छ । सबै काेराेनासँग डराएर घर बसेका बेला उनीहरु बिरामीकै सेवामा अस्पताल पुगे र रातदिन नभनी सेवामा खटिरहे ।’

सम्मेलनमा एशोसिएसनकी अध्यक्ष लक्ष्मी केसी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, आइओएमकी डीन प्राडा दिव्यासिंह शाह लगायतले क्रिटिकल केयर नर्सको महत्व र भूमिकाको बारेमा मन्तब्य राखेका थिए ।

‘क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपाल’ आइसीयूमा काम गर्ने नर्सहरूको छाता संगठन हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार