Health TV Online
Health TV Online
Health TV Online

‘लागूऔषध प्रयोगकर्तालाई थुनेर राख्नु समस्याको समाधान होइन, उपचार गरौं’

‘लागूऔषध प्रयोगकर्तालाई थुनेर राख्नु समस्याको समाधान होइन, उपचार गरौं’

हेल्थ टिभी अनलाइन \काठमाडौं : लागूऔषध प्रयोकर्तालाई अपराधका रुपमा लिई जेलमा थुनेर राख्नेभन्दा पनि उनीहरुको समस्या कम गर्न उपचार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। शुक्रबार रिकभरी नेपालले आयोजना गरेको पत्रकार छलफल कार्यक्रमममा संस्थाका सिइओ विष्णु शर्माले लागूऔषध सेवन गर्नु भनेको एक किसिमको रोग नै भएकाले यसको उपचारमा ध्यान दिइनुपर्नेमा यसो नगरी अपराधअन्तर्गत राखी उनीहरुलाई जेलमा राखिरहनु उचित नभएको बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘लागूपदार्थ सेवन गर्नेलाई जेल हाल्दैमा समस्या समाधान हुँदैन, यसले उल्टो बढी समस्या निम्त्याउने गर्छ ।’ उनले लागूपदार्थ सेवनकर्ताले जेल हाल्दैमा यो खान नछोड्ने र फेरि घर समाजमा फर्किएपछि लागूपदार्थ  खान सुरु गर्ने भएकाले उनीहरुलाई सुरुदेखि नै रिहाब सेन्टरमा राख्नेकी वा अस्पतालमै राखेर उपचार गर्ने भन्ने निधो गरेर उपचारमा जानुपर्नेमा जोड दिए । उनले अहिले नेपालका विभिन्न जेलमा रहेका बन्दीहरुमध्ये २१ प्रतिशत लागूपदार्थ सेवन गर्ने वा ओसारपसारसँग सम्बन्धित व्यक्तिहरु भएको भन्दै उनीहरुको समस्या समाधान गर्नका लागि यो उचित स्टेप नभएको जिकीर गरे ।

यसैगरी लागूपदार्थ सेवनकर्ता र यसबाट निम्तिने एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता रुप नारायण श्रेष्ठले सरकारकै ८ वटा अस्पतालले लागूपदार्थ सेवनकर्तालाई सुई मार्फत यसको सेवन नगर बरु मुखबाट खान मिल्ने औषधि खाउ भनेर आफैले या औषधि दिइरहेकाले उनीहरुलाई अपराधीका रुपमा नभई रोगीका रुपमा हेरिनुपर्ने बताए । श्रेष्ठले केही समय अघि गरिएको एक अध्ययन अनुसार लागूपदार्थ सेवन गर्ने ९० प्रतिशतभन्दा बढीमा हेपाटाइटिस र ५० प्रतिशतमा एचआइभी संक्रमण पुष्टि भएको भन्दै उनीहरु रोगको शिकार हुँदै जाने हुँदा यसबाट छुटाउनका लागि विभिन्न प्याकेजहरु ल्याउन जरुरी रहेको जनाए । यसरी नै सबैलाई कानून बमोजिम भन्दै जेल हाल्दै जाने हो भने वर्षौसम्म पनि यो समस्या घट्न नसक्ने जनाए । नेपालमा लागूऔषधका क्षेत्रमा काम गर्ने ३ सय बढी संस्था भए पनि लागूपदार्थ सेवन गर्नेको संख्या घट्नुको सट्टा झनझन बढ्दै गएको बताए ।

नेपालमा हाल १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेको अनुमान छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार