Health TV Online
Health TV Online
Health TV Online

यौन तथा प्रजनन स्वास्थ्य सेवा सबैको पहुँचमा हुन जरुरी छ : विज्ञहरु

यौन तथा प्रजनन स्वास्थ्य सेवा सबैको पहुँचमा हुन जरुरी छ : विज्ञहरु

कल्पना आचार्य \काठमाडौं : यौन तथा प्रजनन स्वास्थ्य सेवा युवा उमेरमा मात्र चाहिने सेवा हो भनेर सोच्नु गलत भएको विज्ञहरुले बताएका छन्। बुधबार इन्टरन्यूज हेल्थ जर्नलिजम नेटवर्क र सीएनएसको संयुक्त आयोजनामा भएको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी राउन्ड टेबल डिस्कसन कार्यक्रममा विज्ञहरुले अझै पनि यौन तथा प्रजनन स्वास्थ्यकावारेलाई लिएर भ्रमहरु भएको बताएका हुन्। उनीहरुले यौन तथा प्रजनन स्वास्थ्य भनेको युवा समूहलाई मात्र चाहिने नभई उमेर ढल्कँदै जाँदा पनि चाहिने साथै अन्य लिंगीहरुलाई पनि यसको आवश्यकता पर्ने भन्दै यस्ता कुरा छलफल गर्न जरुरी भएको जनाए ।

कार्यक्रममा बोल्दै नोज फाउन्डेसन ट्रस्टकी कार्यकारी निर्देशक तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकार अभियन्ता अन्जली गोपालनले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा महिला र पुरुषलाई मात्र चाहिन्छ भन्ने सोचका कारण अन्य लिंगीहरुले यो सेवा लिन नसकिरहेको बताइन्। उनले पढेलेखेका व्यक्तिहरुलाई समेत यो कुराकावारेमा जानकारी नहुँदा धेरै समस्या रहेको सुनाइन्। उनले महिला पुरुषबाहेक अन्य लिंगीहरुलाई पनि यौन तथा प्रजनन स्वास्थ्य सेवा आवश्यक छ र यो उनीहरुको अधिकार हो भन्ने विषयमा व्यापक छलफल हुन जरुरी रहेको बताइन्। उनले यसमा मिडियाको पनि महत्वपूर्ण भूमिका हुनेमा जोड दिइन्।

यसैगरी अर्की वक्ता पाकिस्तानको नेशनल फोरम अफ वुमन विथ डिसेब्लिटिजकी अध्यक्ष अबिया अक्रमले अपांगता भएका व्यक्तिहरुलाई विश्वभर नै यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन असहज हुने गरेको बताइन्। उनले कतिपय स्वास्थ्य संस्थामा संरचना नै अपांगमैत्री नभइदिंदा उनीहरु स्वास्थ्य संस्थासम्म पनि जान नसकिरहेका अवस्था रहेको जिकीर गरिन्। उनले भनिन, अपांगता भएकै कारण कसैले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित हुनु भनेको उसको मानव अधिकारको हनन् हुनु हो। यसलाई पहुँचयोग्य बनाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

यसैगरी राउण्ड टेबल डिस्कसनमा बोल्दै यौन तथा प्रजनन स्वास्थ्य विज्ञ तथा एशिया प्यासिफिक रिसोर्स एण्ड रिसर्च सेन्टर फर वुमनकी डेपुटी कार्यकारी निर्देशक साई ज्योथिरमाईले यौन तथा प्रजनन स्वास्थ्यका विषय मिडियामा पनि कम आउने गरेको भन्दै यस्ता विषयवस्तुहरु मिडियामा आउन जरुरी रहेको बताइन्। उनले उमेर बढ्दै जाँदा पनि यौन स्वास्थ्य चाहिने भए पनि वृद्ध अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य चाहिंदैन भनेर सबैले इग्नोर गरिदिंदा उनीहरु आफनो चाहना दबाएर बस्ने गरेको अध्ययनले देखाएको बताइन्। उनले आफूले गरेको एक अध्ययन अनुसार वृद्धा अवस्थामा यौनका कुरा गर्नु लाजको विषयमा हेरिने भएकाले पनि उनीहरु कयौं कुराहरु सेयर गर्न नसकेको देखिएको जनाइन्। उनले यो कुरा सबैलाई चाहिन्छ भन्ने विषय सबैले बुझ्न जरुरी रहेको र त्यही अनुसार छलफल चलाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा वेलकम मन्तब्य राख्दै वरिष्ठ पत्रकार तथा सीएनएसकी  निर्देशक शोभा शुक्लाले एशियाका धेरै देशहरुले यौन तथा प्रजनन स्वास्थ्य लगायतका धेरै अधिकार सबैका लागि सुनिश्चित गर्नेे भन्दै अन्तराष्ट्रिय स्तरमा हस्ताक्षर गरेको भए पनि अझै पनि स्वास्थ्यमै महिला, अपांगता भएका व्यक्ति तथा अन्य लिगींको पहुँच कम भएको बताइन्। उनले सबैका लागि स्वास्थ्य सेवा भनिए पनि कयौंले यो सेवा नपाएकै कारण विभिन्न अप्ठ्याराहरु भोगिरहेको समेत जिकीर गरिन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार