Health TV Online
Health TV Online
Health TV Online

आजदेखि देशभर राष्ट्रिय जनगणना सुरु

मातृ मृत्यु लगायत स्वास्थ्यका विविध विषयमा अध्ययन गरिदैं

आजदेखि देशभर राष्ट्रिय जनगणना सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : आजदेखि देशभर हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । यो अभियानमा कार्तिक २५ अर्थात आजदेखि मंसीर ९ गतेसम्म मूल गणना कार्य हुनेछ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले यसपटकको जनगणना अन्य जनगणनाभन्दा केही पृथक भएको भन्दै धेरै विषयवस्तु र क्षेत्र समेट्न खोजिएको बताए ।

लगभग ८० भन्दा बढी प्रश्न लिएर गणक तथा सुपरभाइजर घरघरमा जाने भएकाले सबैले आ आफ्नो विवरण टिपाएर जनगणनालाई सफल पार्न सहयोग गरिदिन उनले आग्रह समेत गरे । जनगणनाका लागि विभागले झण्डै ४० हजार गणक छनौट गरी परिचालन गर्दैछ । उनले संघीयतापछिको पहिलो गणना भएकाले पनि यो गणना ऐतिहासिक रहने भन्दै नागरिकले आफनो गणना सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक नागरिकको घर घरमा गएर विवरण लिइने एउटा मात्र माध्यम जनगणना भएकाले पनि यो केही जटिल र झन्झटिलो हुने जनाए । गाउँमा भन्दा पनि शहरी क्षेत्रमा बसोबास गर्नेले आफनो विवरण दिन आनाकानी गर्ने गरेको समेत उनले जिकीर गरे ।

यसअघिका जनगणनामा शिक्षकहरुलाई सहभागी गराइने गरेकोमा यसपटक वेरोजगार युवाहरुलाई रोजगारको अवसर दिंदै उनीहरुलाई गणक तथा सुपरभाइजर बनाइएको छ । उनले गणकले घर परिवारसँग लिने सबै विवरण गोप्य रहने हुनाले ढुक्क भएर विवरण टिपाउन आग्रह गरे । जनगणना आज राष्ट्रपति विद्यादेवी भण्डारीको गणना गरेर सुरु हुने जनाइएको छ ।

यसपटकको जनगणनामा स्वास्थ्यका विविध पक्षहरु पनि समेटिएका छन्। विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपटकको जनगणनामा अपांगताका पनि १२ प्रकारका अपांगताको विवरण लिन खोजिएको जनाए । उनले पहिलोपटक जनगणनामार्फत अटिजम, हिमोफेलिया, पूर्ण दृष्टिविहिन लगायतका अपांगता भएका व्यक्तिको संख्या र अवस्था समेटिन लागेको जनाए । यसैगरी स्वास्थ्यको महत्वपूर्ण मानिने मातृ मृत्युको पनि अध्ययन हुँदैछ । मातृ मृत्यु दरको अध्ययनको लागि विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग सहकार्य गर्दै यसको वृहत अध्ययन गर्ने भएको हो । यो अध्ययनलाई स्वास्थ्य क्षेत्रका विज्ञहरुले महत्वपूर्ण रुपमा लिएका छन्। यसमा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएको भए त्यसको कारण खोज्दै सो जानकारी स्थानीय स्वास्थ्यकर्मीलाई  दिने र स्वास्थ्यकर्मीले यसको सम्पूर्ण लागत राख्ने जनाइएको छ । यसबाट मातृ मृत्युदरको सही र तथ्यपरक विवरण आउने आशा गरिएको छ ।

यसैगरी जनगणनामा शिक्षादेखि इन्टरनेटको पहुँच, विवाह गर्दाको उमेरदेखि पेशा व्यवसाय, आम्दानीदेखि खर्च, बैंकमा खाता भए नभएकोदेखि रिणसम्मका प्रश्न सामेल छन्। हरेक दश वर्षमा हुने जनगणनाबाट आउने तथ्यांकले देशकै नीति तथा कार्यक्रम बनाउन सहयोग मात्र हुने हैन् कोशे ढुंगा नै सावित हुने विश्वास लिइन्छ ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार