जटिल लक्षण देखिएका र पूर्ण खोप लगाएकामा एन्टीबडी बढी देखियो : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको खोप लगाएका र नलगाएकावीच अध्ययन गर्दा खोप लगाएकामा कोभिड विरुद्धको एन्टीबडी बढी भएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययन अनुसार खोप नलगाएका र एक डोज मात्र खोप लगाएकामा भन्दा पूर्ण खोप लगाएकामा एन्टीबडी बढी देखाएको हो । परिषदले आज नेपालमा कोभिड १९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिहरुमा एन्टीबडीको अध्ययन नामक रिपोर्ट सार्वजनिक गर्दै पूर्ण खोप लगाएकामा एन्टीबडी बढी देखिएको जनाएको हो ।
परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले खोपको प्रभावकारिता मापन गर्नका लागि परिषदले यो अध्ययन गरेको जनाए । उनले काठमाण्डौं, भक्तपुर र ललितपुरमा खोप लगाएका र नलगाएका १ हजार ७९६ सहभागीहरुको नमुना संकंलन गरी एन्टीबडीको स्तरको परीक्षण गरेको र त्यसमा खोप नै नलगाएकामा कम एन्टीबडी पाइएको साथै एक डोज मात्र खोप लगाएकामा केही बढी र दुबै डोज खोप लगाएकामा बढी मात्रामा एन्टीबडी बनेको पाइएको बताए ।
सहभागीमध्ये खोप लगाएका व्यक्तिहरुमा ९४१ जनामध्ये ६५ प्रतिशतमा एन्टीबडी देखियो भने खोप नलगाएका मध्ये ३८४ मध्ये ४३ दशमलब ९७ प्रतिशतमा एन्टीबडी देखिएको थियो । उता पहिलो डोज मात्र खोप लगाएका ५५ प्रतिशतमा र दुवै डोज लिएका मध्ये ८२ प्रतिशतमा एन्टीबडी देखिएको जनाइएको छ ।
यसैगरी कोभिड १९ को संक्रमण भई निको भएका मध्ये लक्षण नदेखिएका सहभागीहरुको तुलनामा जटिल लक्षण देखिएका सहभागीहरुमा एन्टीबडी बढी विकसित भएको अध्ययनले देखाएको छ ।
उता कोभिड १९ विरुद्धको खोप नलगाएका तथा कोभिडको संक्रमण पुष्टि नभएकामा पनि ४६ प्रतिशतमा एन्टीबडी बनेको अध्ययननमा उल्लेख छ । कोभिड एन्टीबडी बन्ने प्रक्रियामा खोप लगाएको समय बढ्दै जाँदा एन्टीबडी पनि कम हुँदै गएकाले कहिलेसम्म एन्टीबडीले काम गर्छ भन्ने विषयमा अझै अध्ययन गर्नुपर्ने विज्ञहरुको राय छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?