‘परिवार नियोजन : विकासको लागि उत्कृष्ट लगानी हो’
हेल्थ टिभी अनलाइन \काठमाडौं : परिवार नियोजन विकासको लागि उत्कृष्ट लगानी भएको भन्दै विज्ञहरुले यसको पहुँच सबै सेवाग्राहीसमक्ष पुराउन पर्नेमा जोड दिएका छन्। बिहिबार आठौं राष्ट्रिय परिवार नियोजन दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी विच्छाले परिवार नियोजनमा गरिएको लगानी कहिल्यै खेर नजाने भन्दै यसमा अहिले गरेको लगानीले मातृमृत्यु र नवजात शिशुको मृत्युमा उल्लेख्य कमी आउने बताए । उनले परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या भन्दा पनि बिचमै यसको प्रयोग रोक्ने समूहलाई परामर्श गरेर यसको प्रयोग निरन्तरतामा जोड दिनुपर्ने जनाए । यसैगरी कार्यक्रममा डा राजेन्द्र गुरुङले परिवार नियोजन सम्बन्धी भ्रामक सूचनाहरु मिडियामा आउने गरेकाले पनि धेरै जनाले भ्रममा परेर यसको प्रयोग गर्न हिच्किचाएको बताए ।
उनले नेपालमा प्रयोग हुने परिवारका नियोजनका सबै साधनहरु अत्यन्त सुरक्षित रहेकाले यसको प्रयोग गर्न डराउन नपर्नेमा जोड दिए । यसका साथै मिडियाले पनि सही तथ्यपरक सूचना सबै समक्ष पुराएर परिवार योजना गर्नका लागि मद्दत गर्नुपर्ने जनाए । उनले परिवार नियोजनमा १ रूपैयाँ खर्च गर्दा तयसले देशलाई ३ रूपैयाँ बराबरको फाइदा रिटर्न गर्ने भन्दै सही समयमा परिवार योजना गरेमा मातृ तथा नवजात शिशु मृत्युदरमा उल्लेख्य कमी आउने समेत जिकीर गरे ।
कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले परिवार नियोजनका साधन प्रयोग गर्ने भनेको आफनो परिवार मात्र व्यवस्थित गर्ने नभएर समाज र देशकै विकासको लागि सहयोग पुग्ने जनाए । असुरक्षित यौन सम्पर्ककका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा असुरक्षित गर्भपतन असुरक्षित सुत्केरी हुने सम्भावना बढ्ने र यसबाट मातृ तथा शिशु मृत्यु हुने सम्भावना पनि बढ्छ। त्यसैले यस्तो असर नपरोस भन्नका लागि पहिले नै आफू तयार भएर परिवार नियोजनका साधन प्रयोग गर्न जरुरी हुने विज्ञहरुको सुझाव छ । कार्यक्रममा कोभिड महामारी र यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनको समयमा परिवार नियोजनका साधन प्रयोग गर्नेमा निकै कमी आएको बताइएको थियो ।
यही असोज २ गते ‘कोभिड १९ को महामारी : परिवार योजना सेवामा सबैको पहुँचको बराबरी’ भन्ने नारामा साथ आठौं राष्ट्रिय परिवार नियोजन दिवस मनाइँदैछ्।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित