नेपालमा पनि निपाह भाइरसको जोखिम : सबैलाई सतर्कता अपनाउन आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : मृत्युदर बढी रहेको निपाह भाइरसको संक्रमण भारतमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि जोखिम बढेको भन्दै सबै जना सतर्क हुनुपर्ने जनाएको छ । पशुबाट मानिसमा सर्ने उक्त रोग निकै संक्रामक रहेको भन्दै यसबाट जोगिन र योसँग मिल्ने लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय दक्षिण भारतको केरलामा निपाह भाइरस फेला परेसँगै नेपालमा पनि सतर्कता बढाइएको छ । यो भाइरस पशुपक्षीबाट मानिसमा सर्ने भएकाले यसलाई जूनोटिक रोगको वर्गमा राखिएको छ।
प्रायः सुँगुर, बङ्गुर र फलफूल खाने चमेरोमा संक्रमण भएपछि मानिसमा पनि सर्न सक्ने मन्त्रालयको भनाइ छ। निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्छ । संक्रमित चमेरोबाट सुँगुर, गाई गोरु जस्ता जनावर हुँदै मानिसमा संक्रमित पशुको संसर्गमा आएमा यो रोग सर्छ । यसैगरी चमेरोले जुठो हालेको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत दिशा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो भाइरस सजिलै सर्ने गर्छ । र यो अत्यन्त प्राणघातक हुने बताइएको छ।
लक्षणहरु:
ज्वरो आउने
टाउको दुख्ने
रिंगटा लाग्ने
मांसपेशी दुख्ने
वाकवाकी लाग्ने
श्वासप्रश्वासमा समस्या हुने
टन्सिलाइटिस
वेहोस भएर लड्ने
मष्तिष्कमा असर गर्ने
रोकथाम कसरी गर्ने त :
फलफूल राम्रोसँग पखालेर मात्रै खाने
तरकारी सकेसम्म पकाएर खाने
गाइवस्तुको गोठ र फार्म सफा राख्ने
मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
सकेसम्म पानी उमालेर खाने
बेलाबेलामा साबुनपानीले हात धुने
भारतमा संक्रमण फैलाउने चमेरो नेपालमा पनि पाइने त्यसैगरी नेपालमा सुँगुरपालन कृषकको रोजाइमा परेको व्यवसाय रहेको र मानिसबाट मानिसमा सजिलै सर्न सक्ने हुँदा नेपाल जोखिममा रहेको विज्ञहरु बताउँछन्। नेपालमा भाइरस आउन सक्ने सम्भावना भएका ठाउँमा अहिल्यै नै सतर्कता अपनाउनुपर्ने उनीहरुको भनाई छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त