Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘हेड एण्ड नेक क्यान्सर’ हुनेमध्ये ९० प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता

‘हेड एण्ड नेक क्यान्सर’ हुनेमध्ये ९० प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ‘हेड एण्ड नेक क्यान्सर’ हुनेहरुमध्ये ९० प्रतिशत कुनै न कुनै सुर्तीजन्य पदार्थको सेवनकर्ता भएको पाइएको छ ।

मंगलबार नेपाल क्यान्सर अस्पताल, क्यान्सर सपोर्ट ग्रुप तथा उपचारका लागि सहयोगी हातहरुले संयुक्त रुपमा गरेको सर्भाइभर मिटमा विज्ञहरुले नेपालमा हेड एण्ड नेक क्यान्सर हुनेमध्ये ९० प्रतिशतले कुनै न कुनै रुपमा सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएको बताएका हुन्। उक्त कार्यक्रममा अस्पतालका हेड एण्ड नेक क्यान्सर विशेषज्ञ डा प्रभात ठाकुरले यो क्यान्सर पछिल्लो समय बढ्दै गएको भन्दै यसरी बढ्नुमा सुर्तीजन्य पदार्थको सेवन नै भएको बताए । उनले भने, नेपालमा जहाँ पनि जसले पनि चुरोट खैनी लगायतका सुर्तीजन्य पदार्थ सजिलै किन्न सक्ने भएकाले पनि यसको सेवन बढेको र यसले अन्तत मुख, जिब्रो, घाँटी, गिंजा लगायतका क्यान्सर हुने गरेको छ ।

उनले केही वर्ष यता सानै उमेरदेखि चुरोट सेवन गर्नेको संख्या बढेकाले पनि धेरै बिरामी ३० देखि ४५ वर्षका भएको बताएका छन् । उनले नेपालमा प्रत्येक वर्ष १२ देखि १४ हजार हेड एण्ड नेक क्यान्सरका नयाँ बिरामी थपिने गरेको बताए । यसमध्ये ३० प्रतिशतको ज्यान जाने गरेको तथ्य रहेको पनि जिकीर गरे । उपचारमा आउनेहरु पनि ६० देखि ७० प्रतिशत बिरामी एडभान्स स्टेजमा आउँदा उपचारमा जटिलता हुने उनको भनाई थियो । उनले भने, ‘जति ढिला आयो त्यति उपचार खर्चिलो र जटिल हुन्छ उनले थपे ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सर रोग उपचार सफल हुनमा बिरामी कति छिटो अस्पताल आइपुग्यो भन्नेमा पनि भर पर्ने हुनाले यसलाई लापरवाही नगरी केही लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिनपर्नेमा जोड दिए । उनले हेड एण्ड नेक मात्र हैन सबैजसो क्यान्सरको उपचार नेपालमै सम्भव हुने समेत जनाए ।

यसैगरी अर्का क्यान्सर रोग विशेषज्ञ डा गिसुपनिख प्रसिकोले हेड एण्ड नेक क्यान्सर धेरै आफनै बानीले हुने हुँदा त्यो बानी सुर्तीजन्य पदार्थको सेवन रहेको जनाए । उनले आफनो खराब बानीलाई छोड्न मात्र सके क्यान्सर जस्तो जटिल रोग लाग्नबाट जोगिनसक्ने बताएका थिए।

उता नेपाल क्यान्सर सपोर्ट ग्रुपकी सदस्य स्वरुपा श्रेष्ठले क्यान्सर लाग्नै नदिनु उत्तम भए पनि केही गरी क्यान्सर भइहालेमा पनि नआत्तिएर यसलाई म जित्नसक्छु भनेर उपचार गर्दा र आफनो कुरा सेयर गर्दा यसलाई जित्न सकिने र सहज हुने बताइ्न । उनले क्यान्सर निको भएकाले मलाई निको भयो भनेर खुलेर आएमा उपचारमा भएकालाई आत्मबल बढ्ने समेत जनाइन् ।

कार्यक्रममा हेड एण्ड नेक क्यान्सर भएर उपचार गराइरहेका र निको भएकाहरुले आफूले सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर जस्तो जटिल रोगको शिकार हुन परेको अनुभव सुनाएका थिए । उनीहरुले आफूहरुलाई जस्तो दुख हुने भन्दै क्यान्सर निम्त्याउने सुर्तीजन्य पदार्थको सेवन नगर्न सबैलाई आग्रह समेत गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार