Health TV Online
Health TV Online

नेपालमा संक्रमण पुष्टि हुने दर घटेन, सक्रिय संक्रमितको संख्या नै २७ हजारभन्दा बढी

जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरुको सुझाव

नेपालमा संक्रमण पुष्टि हुने दर घटेन, सक्रिय संक्रमितको संख्या नै २७ हजारभन्दा बढी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या बढ्ने क्रममा देखिएको छ भने संक्रमणदर पनि उच्च देखिएको छ ।

बिहिबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही दिन यता डिस्चार्ज हुने भन्दा नयाँ संक्रमित थपिने क्रम उच्च रुपमा बढेको छ । हाल देशमा २१ देखि २२ प्रतिशत संक्रमण दर रहेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी बताउँछन्। यो भनेको उच्च संक्रमण हो उनले भने ।

त्यसा त यो दर केही प्रदेशमा भने अझै बढी देखिएको छ । बुधबार गरिएको परीक्षणमा सुदूरपश्चिममा ४८ प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि भएको थियो भने कर्णाली प्रदेशमा पनि ४६ प्रतिशत संक्रमण पुष्टि भएको थियो ।

यसले कोरोनाको जोखिम नघटेको र तेस्रो लहर आउनसक्ने संकेत दिएको डा अधिकारीको भनाई छ । बिहिवार मात्र स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणले लापरवाही गर्दा संक्रमण बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको थियो । यसका साथै तेस्रो लहर आउनसक्ने भन्दै सबै अस्पताललाई शैया, अक्सिजन लगायतको व्यवस्थापन गर्न आग्रह गरेर पत्र लेखेको थियो ।

टेकु अस्पतालका निर्देशक एवम सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले निषेधाज्ञा खुकुलो भएयता अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको जनाए । उनले दुबै डोज खोप लगाएका व्यक्ति पनि सिकिस्त भएर अस्पताल आउन थालेको भन्दै यसबाट बच्ने एउटै उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना गर्नु रहेको जनाए । उनले आफ्नोअस्पतालमा आइसीयूदेखि वार्डसम्म सबै बेड बिरामीले भरिएको समेत जानकारी दिए ।

हाल देशमा सक्रिय संक्रमितमध्ये ६३५ जना आइसीयूमा र १७२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । देशभर ९ हजार ६६१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

कोरोना नियन्त्रण तथा रोकथामका लागि देशमा जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै लगभग सबै व्यापार व्यवसाय खुल्न थालेका छन्। उता सर्वसाधारणले पनि कोरोनालाई वेवास्ता गरेको देखिन्छ । कयौंले मास्क समेत नलगाई बाहिर हिंडन थालेका छन्। योसँगै खोप अभियान कार्यक्रममा पनि निकै भिडभाड र ठेलमठेल हुन थालेको छ । कयौं देशहरुले खोप नलगाई आफनो देशमा प्रवेश नै नदिने घोषणा गरेपछि खोप लिनको संख्या बढेको मन्त्रालयले जनाएको छ ।

उता मन्त्रालयले भने खोप लगाएका वा नलगाएका सबैले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भन्दै कोरोना नियन्त्रण गर्न सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार