Health TV Online
Health TV Online
Health TV Online

नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानून उत्कृष्ट छ, कार्यान्वयनमा जोड दिऔं

नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानून उत्कृष्ट छ, कार्यान्वयनमा जोड दिऔं

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न बनेको कानून उत्कृष्ट भएको भन्दै कार्यान्वयन पक्षमा ध्यान दिन जरुरी रहेको विज्ञहरुले बताएका छन्।

सोमबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा भर्चुअल रुपमा गरिएको वेभिनार कार्यक्रममा उनीहरुले कानून राम्रो हुँदाहुँदै पनि यसको पालना नहुँदा सुर्तीजन्य पदार्थ नियन्त्रणमा समस्या भएको जनाएका हुन्। कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले नेपालमा उत्कृष्ट कानून बनाएको र पहिलोपटक ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने देश बनेको भन्दै अन्तराष्ट्रिय अवार्ड समेत पाएको भन्दै यसको कार्यान्वयन पक्षमा सबै सरोकारवालाको ध्यान जान जरुरी रहेको बताए ।

यसैगरी विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा ८० लाख मानिसको मृत्यु हुने गरेको र १२ लाख मानिसको अरुले खाएको चुरोटको धुवाको कारण मृत्यु भइरहेको भन्दै यसलाई कम गर्नका लागि सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सुर्तीजन्य पदार्थ छोड्न कहिल्यै ढिला नहुने भन्दै यसको सेवन गर्न छोडेको केही घण्टामै सकारात्मक संकेत देखिन शुरु गर्ने जनाए । उनले स्वस्थ जीवनका लागि सुर्तीजन्य पदार्थ छोड्न सबैलाई आग्रह समेत गरे ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले कानून कार्यान्वयन गर्ने केही सरकारी कर्मचारी नै सुर्ती कम्पनीको चंगुलमा परेको जनाए । उनले यसमा सबैको ध्यान जान जरुरी रहेको समेत जिकीर गरे । उनले आफनो प्रदेशमा यो कानून पूर्ण रुपमा कार्यान्वयनमा लागिरहेको समेत जानकारी दिए ।

यसैगरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले अहिले एक वर्षदेखि स्वास्थ्य मन्त्रालय कोभिडमै केन्द्रित भएकाले अन्य क्षेत्र हेर्न नभ्याएको स्विकार गरे । उनले स्वास्थ्य मन्त्रालयले काम गरिरहेको भए पनि सबैको समन्वय गरेर मात्र काम गर्नुपर्ने भएकाले केही समस्या देखिएको जिकीर गर्दै पहिले भन्दा यसको नियन्त्रण भएको बताए ।

राष्ट्रियसभा सांसद  कोमल वलीले आफूले गाउने गित, म्यूजिक भिडियोहरुमा सुर्तीजन्य पदार्थको सेवनलाई बढावा दिने गरी काम नगरेको र अब आगामी दिनमा अझै यस विषयमा चनाखो हुने र यस्ता कार्यक्रम भए वहिष्कार गर्ने समेत जिकीर गरिन । युवा नेत्री रामकुमारी झाक्रीले सुर्तीजन्य पदार्थले गर्ने सहयोगका विषयमा अन्तर मन्त्रालयवीच समन्वय नहुँदा सुर्ती कम्पनीले फाइदा उठाउने गरेको भन्दै स्पष्ट रुपमा यो गर्ने यो नगर्ने भन्ने सर्वसाधारणले बुझ्ने गरी बाहिर आउनपर्नेम जोड दिइन । उनले आफू सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने अभियानमा कटिवद्ध रहेको जिकीर गरिन्।

कार्यक्रममा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्राडा दिव्या सिहं शाहले सुर्तीजन्य पदार्थको सेवन घटाउन यसमा लागेका साना व्यवसायीलाई वैकल्पिक व्यवसायतर्फ आकर्षित गर्नेदेखि गाउँ गाउँसम्म जनचेतना पुराउन पर्ने बताइन्। उनले सुर्ती कम्पनीले दिएको सहयोग लिनु भनेको उनीहरुका कारण वर्षेनी हजारौं मानिसको ज्यान जाने कामको समर्थन गर्नु जस्तै हुने भएकाले यस्ता सहयोग लिन नहुने बताईन ।

अर्का चिकित्सक मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले मुटुरोगको सम्बन्ध सिधै सुर्तीजन्य पदार्थसँग हुने गरेको भन्दै केही छोटो समयमा लहै -लहैमा खाएको चुरोटले पनि मुटुलाई धेरै नै हानी गरिरहेको हुने भन्दै यसको सेवन नगर्न सबैलाई आग्रह गरे ।

द यूनियन एशिया प्यासिफिक क्षेत्रका निर्देशक डा तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न बनाइएको कानून उत्कृष्ट रहेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको बताए । उनले कानूनमा स्पष्ट रुपमा सुर्ती कम्पनीले सामाजिक उत्तरदायित्वको नाममा सहयोग, चन्दा लिन नपाइने व्यवस्था गरेको भए पनि सरकारी उच्च पदाधिकारीले नै यसरी अनुदान सहयोग लिइरहेको भन्दै यसबारेमा सचेत हुनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थको सेवन कम गराउनका लागि भएको कानून कार्यान्वयन गरे मात्र पुग्ने बताए ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द चन्द, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलिया लगायत विभिन्न क्षेत्रबाट आएका सहभागीहरुले आ आफनो राय राखेका थिए ।

कार्यक्रम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द यूनियनले आयोजना गरेको हो ।

 

थप समाचार