Health TV Online
Health TV Online
Health TV Online

नियन्त्रणबाहिर कोरोना महामारी, निषेधाज्ञामा थप कडाइ गरिंदै

नियन्त्रणबाहिर कोरोना महामारी, निषेधाज्ञामा थप कडाइ गरिंदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणको महमारी नियन्त्रणबाहिर गएको संकेत देखिन थालेको छ । उपत्यकालगायतका २२ जिल्लामा कोरोनाको तीब्र वृद्धिसँगै सरकारलाई अस्पतालमा संक्रमित भर्ना गर्न र उपचार गर्नसमेत धौ धौ परिरहेको छ । कयौं संक्रमितले बेड र अक्सिजन नपाएरै ज्यान गुमाउन बाध्य भएका  छन्। शुक्रबार स्वास्थ्य तथा जनंसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभर कोरोना संक्रमणको महामारी अहिले भएका स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी फैलिरहेको भन्दै सबैलाई आफै सचेत भएर यसबाट बच्न अपिल गरेको थियो । यसले पनि के संकेत गर्छ भने नेपालमा कोरोना अब नियन्त्रणबाहिर गइसकेको छ ।

उता प्रत्येक दिन नयाँ संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ भने जटिल प्रकारका संक्रमित पनि त्यत्तिकै थपिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशका डा कृष्ण पौडेलले नेपालमा यूके भेरियन्ट कोरोना संक्रमणका कारण संक्रमणले उग्र रुप लिएको बताएका छन्। उनले प्रत्येक नागरिक सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म कोरोना नियन्त्रणमा नआउने बताए ।

उता कोरोना संक्रमतिको उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमणमा परिरहेका छन् । यसले भोलि उपचार गर्ने स्वास्थ्यकर्मीकै अभाव हुने होकी भन्ने त्रास पैदा गरेको बताउँछन् कोरोना हटस्पट बाँँकेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे । कयौं अस्पतालमा संक्रमित डाक्टर तथा स्वास्थ्यकर्मीले नै संक्रमितको उपचार गरिरहेका छन्।

कोरोना नियन्त्रण गर्नका लागि भन्दै सरकारले वैशाख १६ गतेदेखि १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । केही व्यक्तिहरुले यो निषेधाज्ञालाई हल्का रुपमा लिन थालेपछि र कोरोना नियन्त्रणमा आउने संकेत नदेखेपछि सरकारले निषेधाज्ञामा अझ कडाई गर्ने तयारी समेत गरिरहेको छ ।

सीसीएसीको बैठकले पनि निषेधाज्ञामा थप कडाइ गर्नुपर्ने र अन्तराष्ट्रिय राष्ट्रिय उडानहरु केही समयमा लागि बन्द गर्नुपर्ने सुझाव दिएको छ । हालसम्म देशभर ३ हजार २९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने ३ लाख २८ हजार ८९३ जनामा संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार