Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘भेरी अस्पतालमा छिट्टै जनशक्ति थप गरिएन भने धेरै संक्रमितको मृत्यु हुन सक्छ’

‘भेरी अस्पतालमा छिट्टै जनशक्ति थप गरिएन भने धेरै संक्रमितको मृत्यु हुन सक्छ’

कल्पना आचार्य \ काठमाडौं : बाँकेको भेरी अस्पतालमा यतिबेला कोरोना संक्रमणको भयावह स्थिति भएको छ । दैनिक रुपमा सयौंको संख्यामा आउने बिरामीलाई हेर्ने दक्ष जनशक्तिको कमी हुँदा बिरामीले अस्पताल आएर पनि समयमै उपचार नपाउने अवस्था सिर्जना भएको छ । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा राजन पाण्डेले भेरी अस्पतालमा अहिले सबैभन्दा ठूलो समस्या नै जनशक्ति रहेको जनाए । उनले ६ वटा आइसीयू भएको अस्पतालका लागि भएका जनशक्तिले २ सय जना त्यो पनि सिकिस्त संक्रमितलाई कसरी हेर्ने भन्ने प्रश्न खडा भएको बताए ।

उनले सरकारले तुरुन्त नर्स, प्यारामेडिक्स तथा एनेस्थेसियाका डाक्टर र असिस्टेन्टको व्यवस्था नगर्ने हो भने धेरै संक्रमितले उपचार नपाएर ज्यान गुमाउन सक्ने बताए । उनले अहिले आएका ९० प्रतिशत संक्रमित सिकिस्त भएकाले सबैलाई हाइ केयर चाहिने र अस्पतालमा प्रयाप्त स्वास्थ्यकर्मी नहुँदा एउटै नर्सले २० \२५ जनासम्म बिरामी हुर्नुपर्ने अवस्था आएको जनाए । यो अवस्थामा बिरामीले उचित स्याहार र नर्सिङ केयर दिन गाह्रो  भएको उनको भनाई छ ।
योसँगै सरकारले बाँकेमा ‘हेल्थ इमरजेन्सी’ घोषणा गरेर यहाँ भएका सबै अस्पतालमा कोरोना उपचार गर्ने व्यवस्था गर्न जरुरी भइसकेको डा पाण्डेको भनाई छ । उनले भेरीले मात्र धान्नै नसक्ने गरी संक्रमित आएकाले निजी अस्पतालसँग पनि सहकार्य गरेर अघि बढ्न सके केही राहत हुने जनाए । यसले बिरामी र सरकार दुबैलाई सहज हुने समेत जिकीर गरे ।

भेरी अस्पतालमा १४२ वटा कोभिड बेड भए पनि अहिले २ सय भन्दा बढी संक्रमितलाई अक्सिजन दिएर उपचार गरिएको उनले जानकारी दिए । उता अस्पतालका  मेसु डा प्रकाश थापाले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी नै संक्रमणमा परिरहेको बताउँदै यसले झनै जनशक्ति व्यवस्थापन गर्न गाह्रो भएको बताए । दुई सातामा भेरी अस्पतालमा ५० जना भन्दा बढी डाक्टर तथा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। उनले सरकारले तुरुन्त स्वास्थ्यकर्मी पठाउन नसके यही अवस्थामा अब आउने संक्रमितलाई उपचार दिन नसक्ने समेत जिकीर गरे ।

बाँके यसभन्दा अघिको पहिलो कोरोना लहरमा पनि धेरै प्रभावित भएको थियो । अहिले पनि बाँके नै बढी प्रभावित भएको छ । डा पाण्डेले भने, ‘अहिले भेरीमा बेड पाउन कि त बिरामी मर्नुपर्छ कि त निको भएर घर फर्किनुपर्छ । कोरोनाले मानिसलाई यतिसम्म विवश र संवेदनाहीन बनाएको छ की बेड कुरिरहेकाहरु कुन बेला बिरामी मर्ला र आफुले बेड पाउँला भन्ने भइसक्यो ।’

भारतसँग सीमा जोडिएकाले पनि बाँके कोरोनाको उच्च जोखिममा पर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार