Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा भगवान कोइरालाले चुरोट कम्पनीको सहयोग स्विकार्नु कानून विपरित : अभियन्ता

डा भगवान कोइरालाले चुरोट कम्पनीको सहयोग स्विकार्नु कानून विपरित : अभियन्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले कानून विपरित चुरोट कम्पनीको सहयोग स्विकार्नु गलत भएको सराेकारवालाहरुले जनाएका छन्।

डा कोइरालाले आफूले काठमाडौंको बुढानिलकण्ठमा बनाउन लागेको ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ बाल अस्पतालका लागि नेपालको सबैभन्दा ठूलो चुरोट उद्योग सुर्य नेपालको आर्थिक सहयोग स्विकार गरेर आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रममा लागि पत्रकारहरुलाई समेत निमन्त्रणा गरिएको भए पनि सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा लागेको अभियन्ताहरुले चर्को विरोध जनाउँदै स्वास्थ्य मन्त्रालय लगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा काम गर्दै आएको संस्था एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले डा भगवान कोइराला जत्तिको बौद्धिक व्यक्तिले कसरी चुरोट कम्पनीको आर्थिक सहयोग स्विकार गर्नुभयो अचम्मको विषय भएको बताएका छन्। उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन र त्यसका आधारमा बनेको निर्देशिकामा समेत स्पष्ट रुपमा कुनै पनि सार्वजनिक पदमा बसेको व्यक्तिले चुरोट उद्योगको कुनै पनि आर्थिक होस वा प्राविधिक सहयोग लिन नपाउने स्पस्ट लेखिएको छ । उनले डा कोइराला आफै सुर्तीजन्य पदार्थको अभियन्ता समेत रहेकाले यस्तो सहयोग स्विकार गर्नु नपर्नेमा जोड दिए ।

उता यही क्षेत्रमा काम गर्दै आएका रेस्फेकका निर्देशक शान्तलाल मुल्मीले डा कोइरालाले सहयोग मागेमा जसले पनि दिन तयार हुने भन्दै कानून विपरित नै चुरोट उद्योगको सहयोग किन भन्ने प्रश्न गरेका थिए । उनले कोइरालाको यो कामले सुर्ती उद्योगको दादागिरी बढ्ने जनाए ।  मुल्मीले डा कोइराला सबैको रोल मोडल भएर सुर्ती नखाउ, मदिरा नखाउ भनेर विज्ञापन खेल्ने गरेको भन्दै यस्तो सार्वजनिक व्यक्तिले सुर्ती उद्योगको आर्थिक सहयोग लिन नैतिकताले नदिने जनाए ।

कार्यक्रममा सहभागी अन्य अभियन्ताहरुले पनि यो कदम सच्याउँदै यस्तो सहयोग नलिन अपिल गरेका छन्।

यसैगरी सुर्तीजन्य पदार्थ नियन्त्रणकै लागि र नसर्ने रोगमा काम गर्ने संस्था ‘द यूनियन’ का निर्देशक डा तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थका कारण वर्षेनी २७ हजार भन्दा बढी मानिसको मृत्यु भइरहेको अवस्थामा र नेपालले विश्व स्वास्थ्य संगठन ‘फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल’ मा हस्ताक्षर गरेर सबै नियम मान्छु भनिसकेपछि फेरी त्यही नियम तोड्न नहुने जनाएका छन्। उनले यस्तो काम तुरुन्त बन्द गरेर देशको ऐन कानून र अन्तराष्ट्रिय प्रतिवद्धताहरु मान्नुपर्ने बताए ।

सुर्य नेपालले कोइरालाको अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत ५ करोड सहयोग गर्न लागेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार