स्वास्थ्य राज्यमन्त्री रावतको दावी- ‘कोरोना नियन्त्रणमा सरकारले उत्कृष्ट काम गरेको छ’
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले कोरोना नियन्त्रणमा उत्कृष्ट काम गरेर देखाएको दावी गरेका छन्।
सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘कोभिड १९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता विषयक’ अन्तरक्रिया कार्यक्रममा मन्त्री रावतले सरकारले सोचे भन्दा बढी काम गरेर देखाएकाेदावी गरेका हुन्। मन्त्री रावतले धेरैले आलोचना गर्नकै लागि मात्र आलोचना गर्ने गरेको आरोप लगाउँदै सरकारले अन्य देशको तुलनामा निकै राम्रो काम गरेको र त्यसको नतिजा स्वरुप कोरोना महामारी नियन्त्रणतर्फ गएको बताए ।
उनले अन्य विकसित देशहरुमा समेत भर्खर शुरु भएको कोरोना विरुद्धको खोप तुरुन्त ल्याउन सफल भएको भन्दै अझ प्रतिवद्धता गरेको समय अगावै खोप ल्याएर जोखिममा भएका समूहलाई लगाउन समेत शुरु गर्नु आफैमा ठूलो उपलब्धी भएको दावी गरे । कार्यक्रममा बोल्दै उनले मिडियाले राम्रा कुरा नदेखेकाे र नेगेटिभ समाचार मात्र लखेको आरोप समेत लगाउन भ्याए ।
उनले भने, ‘पहिलो संक्रमित देखिंदा परीक्षण गर्ने एउटा पनि पीसीआर ल्याब नभएर बाहिर पठाउन परेको कुरा हामी सबैलाई थाहा छ । अहिले हेर्नुस् ८३ वटा ल्याबबाट हामीले कोरोना परीक्षण गरिरहेका छौं । के यो प्रगति हैन्।’ उनले प्रश्न गरे ।
कार्यक्रममा परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले नेपालमा ल्याइएको कोरोना खोपका विषयमा कोही कसैले शंका गर्नुपर्ने अवस्था नभएको भन्दै सबैलाई ढुक्क भएर लगाउन आग्रह गरेका थिए । उनले विश्वका १६ देशहरुमा लगाइरहेको यो ‘कोभिशिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेको समेत जिकीर गरे ।
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले अहिले जारी रहेको कोरोना खोप अभियान नरोकिने गरी खोप अर्को चरण शुरु हुने र त्यही अनुसार खरिद प्रक्रिया अघि बढेको जनाए । उनले यही दिन आउँछ भनेर भन्न नसके पनि छिटै नै सबै नागरिकले कोरोना खोप लगाउन पाउनेमा ढुक्क हुन आग्रह समेत गरे ।
उता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले कोरोना खोप शुरुमा ५५ वर्ष भन्दा माथिका समूहलाई दिनुपर्ने आफूले भन्दै आएको भए पनि अन्य समूहबाट शुरु भएको जनाए । उनले कोरोना संक्रमण भएर बढी जटिलता हुने समूहबाट खोप दिन शुरु गरेको भए हुने आशय जिकीर गरे । उनले आफूले उपचार गरेका संक्रमितमध्ये अधिकांस ५५ वर्ष पुगेका संक्रमितमा बढी जटिलता र मृत्युदर बढी देखिएको भन्दै यस्तो मापदण्ड बनाउनुपर्ने बताए । उनले खोपमा कुनै पनि शंका गर्नु नपर्ने र सबैले निर्धक्क भएर खोप लगाएर यसको जटिलता र संक्रमणबाट बच्नपर्नेमा जोड दिए । साथै खोप लगाए पनि स्वास्थ्यका मापदण्ड पालना गर्न भने नछोड्न उनले सबैलाई आग्रह समेत गरे ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित