Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतले अनुदानमा दिएको कोरोना खोप १८ वर्ष माथिकालाई मात्र दिन मिल्ने

भारतले अनुदानमा दिएको कोरोना खोप १८ वर्ष माथिकालाई मात्र दिन मिल्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाललाई बिहिबार मात्र भारत सरकारले १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिएको छ ।

भारत सरकारले दिएको ‘कोभिसिल्ड’ नामक खोप १८ वर्ष उमेर पुगेको मानिसलाई मात्र दिन मिल्ने कम्पनीले जानकारी दिएकाले नेपालमा पनि १८ वर्ष भन्दा माथि उमेर भएकाले मात्र यो खोप पाउने भएका हुन्। त्यसो त सरकारले यसभन्दा अघि कोरोना खोप लगाउने मापदण्ड बनाउँदा १५ वर्ष माथिका जनसंख्यालाई आधारित गरेर कुल ७२ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप दिनुपर्ने जनाएको थियो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरीले खोप कम्पनी अनुसार उमेर तोकिने भएकले भारतमा बनेको यो ‘कोभिसिल्ड’ खोप १८ वर्ष माथिकाले मात्र लिन मिल्ने जनाइएको बताए । उनले भने, ‘भारतमा पनि १८ वर्ष माथिकालाई मात्र यो खोप दिइएको छ र हामीले पनि त्यही नियम नै पालना गर्नेछौं ।’ यसो गर्दा नेपालमा खोप दिनुपर्ने जनसंख्या केही बढ्नसक्ने पनि उनले जिकीर गरे ।

उता कोरोना विरुद्धको खोप कसलाई कसरी दिने भन्ने बारेमा खोप सल्लाहकार समितिले पनि केही मापदण्ड तयार गरी सरकारलाई बुझाएको छ । यी मापदण्डमा शुरुको अवस्थामा खोपले कसलाई कसरी कस्तो असर गर्छ भन्ने कुरा एकिन नहुने भएकाले पनि सुत्केरी महिला, स्तनपान गराइरहेका आमा, कुनै पनि औषधिको एलर्जी हुने समूह, दीर्घ रोगी जो कडा औषधि सेवन गरिरहेका छन् उनीहरुलाई यो खोप दिइने छैन्।

डा टिंकरीले कुनै पनि खोपको केहीमा सामान्य देखि जटिल प्रकारको साइड इफेक्ट देखिने हुँदा खोप दिइसकेपछि उनीहरुलाई कम्तीमा पनि एक घण्टा अब्जरर्वेसनमा राख्न जरुरी हुने बताए ।

त्यसो त सरकारले यसअघि नै कसैमा खोपका कारण जटिल समस्या देखिएमा त्यसको जिम्मेवारी सररकाले नै लिने भन्दै जानकारी गराइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशका डा कृष्ण प्रसाद पौडेलले कुनै व्यक्तिमा खोपकै कारण जटिलता आएको वा मृत्यु भएको भन्ने प्रमाणित भएमा त्यसको सम्पूर्ण जिम्मा सरकारले लिने खोप ऐनमा उल्लेख  भएको जनाए । तर उनले थपे, त्यसका लागि विज्ञहरुको टोलीले सो कुरा प्रमाणित चाहिं गर्नुपर्छ ।

भारतले बिहिबार मात्र नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिएको छ । उक्त खोप भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीलाई एअरपोर्टमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार