Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना खोप लगाएपछि स्वास्थ्य समस्या देखिए को जिम्मेवार हुने ?

कोरोना खोप लगाएपछि स्वास्थ्य समस्या देखिए को जिम्मेवार हुने ?

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप भारत लगायत धेरै देशहरुमा लगाउन शुरु गरिसकिएकाे छ ।

नेपालमा पनि केही सातामा नै कोरोना विरुद्धको खोप भारतबाट ल्याइने भन्ने कुरा सरकारले गरिसकेको छ । यही बेला कोरोना खोप लगाएपछि केही व्यक्तिहरुमा जटिल र केहीमा सामान्य समस्या देखिएका कुरा बाहिर आएको छ । यही सन्दर्भमा नेपालमा पनि कोरोना विरुद्धको खोप लगाउँदा यदि कसैमा स्वास्थ्य समस्या आएमा कसले जिम्मेवारी लिने र कसले उपचार गर्ने भन्ने बारेमा चर्चा चल्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना खोप लगाउँदा कसैमा केही समस्या आएमा सरकार त्यसको जिम्मेवार हुने बताए । खाेपकै कारण समस्या भएकाे भन्ने एकिन भएमा खोप ऐन अनुसार कसलाई के कति क्षतिपूर्ति वा सेवा दिने भन्ने तय हुने उनले जानकारी दिए ।

उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले हरेक खोपमा केही न केही साइड इफेक्ट हुने कुरालाई नकार्न नसकिने भन्दै त्यसका लागि तयार भएपछि मात्र खोप ल्याइने बताए । अझ कोरोनाको खोप त सबैका लागि नयाँ भएकाले पनि यसले कसलाई कस्तो असर गर्छ भन्ने कसैलाई पनि एकिन जानकारी नभएको भन्दै यसमा पनि केही साइड इफेक्ट हुनसक्ने जिकीर गरे ।

उनले खोपकै कारण केही भएमा त्यसको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्ने समेत बताए । उनले यसभन्दा अघि बालिबालिकालाई लगाइने खोपका बारेमा पनि यस्ता कुरा बाहिर आउँदा सरकारले खाेप ऐन अनुसार नै गरेको नजिर रहेको समेत उल्लेख गरे ।

उनले ठूलाे  समूदायलाइ धेरै जोखिमबाट बचाउनका लागि लगाइने खोपका १ \२ प्रतिशतमा केही साइड इफेक्ट देखियो भनेर छोड्न नमिल्ने समेत जिकीर गरे । नेपालमा खोप आएको एक साताभित्रै प्रयोग गर्ने गरी तयारी थालिएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार