१० महिनादेखि अवरुद्ध भएको टिचिङको मिर्गौला प्रत्यारोपण सेवा शुरु हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कोरोना महामारीका कारण अवरुद्ध भएको मिर्गौला प्रत्यारोपण सेवा अब भने शुरु हुने भएको छ । कोरोना महामारीका बेला मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिममा पर्ने भन्दै चैत यता बन्द भएको मिर्गौला प्रत्यारोपण सेवा अब भने शुरु हुने भएको छ ।
अस्पतालकी नेफ्रोलोजी विभागकी प्रमुख प्रा डा दिव्या सिंह शाहले मिर्गौला प्रत्यारोपण सेवा यही जनवरीको पहिलो सातादेखि शुरु गर्ने गरी तयारी भएको बताइन्। उनले भनिन, ‘हुन त हामीले यसअघि नै प्रत्यारोपण शुरु गर्न खाजेका थियौं तर यहाँ कोरोना विशेष अस्पताल बनाइएकाले पनि धेरै रिस्क लिन चाहेनौं । अब भने संक्रमितको संख्या घट्दै गएकाले यो सेवा शुरु गर्न लागेका हौं ।’
उनले थपिन, यो सेवा अवरुद्ध नभएको भए अहिलेसम्म ८० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको हुने थियो । के गर्नु महामारीका बेला बिरामीलाई रिस्कमा राख्न पनि भएन ।
त्यसो त भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुई महिना अघि नै प्रत्यारोपण शुरु गरिसकेको छ भने निजी क्षेत्रको ग्रान्डी अस्पतालमा पनि यो सेवा शुरु भइसकेको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र पालो कुरेर बसेका सयौं बिरामीहरुलाई यो सेवा अवरुद्ध हुँदा निकै सकस झेल्नु परिरहेको थियो । मिर्गौला फेल भइसकेको अवस्थामा बिरामीसँग २ वटा मात्र विकल्प रहने गर्छ । की प्रत्यारोपण र अर्को नियमित डायलाइसिस ।
अहिले सेवा अवरुद्ध भएर पालो पर्खेर बसेकाहरु पनि यो १० महिनाको समयमा डायलाइसिस गरिरहेका थिए । शिक्षण अस्पतालमा सातामा २ जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै