Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं महानगरका ५० हजार जनाको मिर्गौला परीक्षण गरिंदै

काठमाडौं महानगरका ५० हजार जनाको मिर्गौला परीक्षण गरिंदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाका ५० हजार जनाको मिर्गौला परीक्षण गरिने भएको छ । काठमाडौं महानगरपालिकाले २६ औँ महानगर दिवसको विशेष कार्यक्रमबाट ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्दै ६ महिना भित्र ५० हजार महानगरवासीको मिर्गौला परीक्षण गरिने जनाएको हो ।

सोमबार काठमाडौं महानगरपालिका र मिर्गौला बचाउ अभियानका संस्थापक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेलेबीच महानगरवासीको नि :शुल्क मिर्गौला परीक्षण सम्बन्धी सम्झौता भएको छ। डा काफ्लेले मिर्गौला रोग असाध्यै जटिल र खर्चिलो भएकाले रोग लाग्नुभन्दा अगावै परीक्षण गर्न जरुरी रहेको भन्दै यो अभियान महानगरसँग मिलेर शुरु गरिएको जनाए । उनले मिर्गौला बचाउ अभियान अन्तर्गत यही पुस १ गतेदेखि काठमाडौं महानगरका सबै वडाहरुमा मिर्गौलाको परीक्षण शुरु गर्ने समेत जनाए । उनले शुरुमा ६ महिनामा ५० हजार जनाको मिर्गौला परीक्षण गर्ने लक्ष्य लिएको र पछि यसलाई बढाउँदै जाने समेत बताए ।

उनका अनुसार काठमाडौंका ३२ वटै वडा र शहरी स्वास्थ्य केन्द्र मार्फत यो सेवा दिने र त्यहाँ समस्या आएमा सम्बन्धित चिकित्सककोमा रिफर गरिनेछ । उता मेयर विद्या सुन्दर शाक्यले काठमाडौं महानगरवासीको मिर्गौला बचाउनका लागि टोल टोलमा दक्ष चिकित्सकसहितको टोली पुगेर काम गर्न लागेको बताए ।

नेपालमा मिर्गौला रोगीको संख्या दिनप्रतिदिन बढिरहेको छ । एकपटक मिर्गौला फेल भएपछि यसको उपचार प्रक्रिया झन्झटिलो त छ नै उपचार खर्च पनि धान्नै नसक्ने हुन्छ । त्यसैले रोग लाग्नै नदिनका लागि मिर्गौलाले राम्ररी काम गरिरहेको छ छैन भन्ने पक्ता लगाउन जरुरी हुन्छ । यही अवस्था पत्ता लगाउन यो अभियान शुरु गरिएको हो, डा काफ्लले भने ।

मिर्गौला बचाउ अभियानले यो रोग लाग्नै नदिनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम एवं निशुल्क शिविरहरु गर्दै आइरहेको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार