पुरुषहरुमा देखिने प्रोस्टेटको समस्या र उपचार
पुरुषहरुमा प्रोस्टेटको समस्या हुनु भनेको महिलामा पाठेघरको समस्या भए जस्तै हो । यो समस्या नेपालमा बढ्दो क्रममा रहेको पाइन्छ । प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको महत्त्वपूर्ण अंग हो जुन अति सुक्ष्म मासंपेशी र ग्रन्थी मिलेर बनेको हुन्छ । यो ग्रन्थी मूत्रथैलीको तल रहेको हुन्छ । मुख्य काम वीर्य स्वस्थ राख्ने हो । उमेर बढ्दै जाँदा र अन्य विभिन्न कारणले पुरुषहरुमा प्रोस्टेटको समस्या देखिन थाल्छ ।
हुनत प्रोस्टेटको समस्या कुनै पनि उमेर समूहका पुरुषमा देखा पर्न सक्छ । तर विशेषगरी ४० वर्ष नाघेका पुरुषहरुमा यो समस्या अझ बढी देखा पर्ने गरेको छ । ४० वर्षपछि प्रोस्टेट ग्रन्थी वृद्धि हुँदै जाने कारणले पनि मूत्रनलीमा अवरोध उत्पन्न हुनाले धेरै पुरुषमा प्रोस्टेटको समस्या देखा पर्छ ।
कसरी थाहा पाउने त प्रोस्टेट भएको ?
यदि तपाइँंलाई छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुहिने, नाइटोमुनि दुख्ने, बारम्बार पिसाबमा संक्रमण भइरहने, यौन इच्छा कम हुने, वीर्य खस्दा पोल्नेजस्तो समस्या छ र यदि यीमध्ये कुनै पनि लक्षण देखिएको छ भने तपाईंलाई प्रोस्टेट ग्रन्थीसम्बन्धी संक्रमण भएको हुनसक्छ । यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ डाक्टरलाई देखाउन जरुरी हुन्छ ।
उपचार विधि
समयमै उपचार गरेमा प्रोस्टेटको समस्या निको पार्न सकिन्छ । प्रोस्टेटको उपचार २ प्रकारले औषधि र शल्यक्रियामार्फत गर्न सकिन्छ । प्रोस्टेटको साइज कति बढेको छ त्यसको आधारमा उपचार शुरु हुन्छ । समस्या सामान्य छ भने त्यसलाई औषधिमार्फत निको पार्न सकिन्छ भने जटिल भइसकेपछि शल्यक्रिया मार्फत उपचार गरिन्छ । प्रोस्टेटमा जति छिटो उपचार गर्यो त्यति नै उपचार सहज हुन्छ र परिणाम पनि राम्रो हुन्छ । जसरी ३० वर्ष काटेपछि महिलाले नियमित पाठेघरको जाँच गर्नुपर्छ त्यसैगरी ४० वर्ष पुगेका पुरुषले पनि आफनो नियमित प्रोस्टेटको परीक्षण गराउन आवश्यक छ । यसरी जाँच गर्दा केही समस्या भएमा छिटै पत्ता लाग्छ र उपचारमा सजिलो हुन्छ ।
प्रोस्टेटको समस्या देखा परेपछि यसबाट बच्न नियमित व्यायाम गर्ने, दैनिक कम्तीमा तीन लिटर पानी पिउने र नियमित रूपमा पिसाबको जाँच गर्नुपर्छ । त्यसका साथै खानामा म्याग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरजस्ता ड्राइफ्रुट्स खानु राम्रो मानिन्छ । त्यसैगरी मकै, गहुँ, जौ, फापर, कोदो, बोक्रासहितका गेडागुडीजस्ता फाइबरयुक्त खानेकुरा खान उपयुक्त हुन्छ । यसले प्रोस्टेट समस्या भएकालाई मात्र हैन अन्य व्यक्तिले पनि खानु राम्रो मानिन्छ ।
यसैगरी हरियो सागसब्जी, फलफूल र तरकारी नताछी खाने र काँक्रो, गाँजर, मूला र चुकन्दर नियमित सलादको रूपमा खानु प्रोस्टेटका बिरामीका लागि राम्रो मानिन्छ ।
एक पटक प्रोस्टेटको समस्या देखा परेका बिरामीहरुले धूमपान, मदिरापान र सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन । साथै सफ्ट ड्रिंक्स, तारेको, भुटेको, अमिलो, पिरो, मसालेदार र चिल्लो खानेकुराबाट टाढै रहनुपर्छ ।
(युरोलोजिस्ट डा दीपक रौनियारसँगको कुराकानीमा आधारित)




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै