पुरुषहरुमा देखिने प्रोस्टेटको समस्या र उपचार

पुरुषहरुमा प्रोस्टेटको समस्या हुनु भनेको महिलामा पाठेघरको समस्या भए जस्तै हो । यो समस्या नेपालमा बढ्दो क्रममा रहेको पाइन्छ । प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको महत्त्वपूर्ण अंग हो जुन अति सुक्ष्म मासंपेशी र ग्रन्थी मिलेर बनेको हुन्छ । यो ग्रन्थी मूत्रथैलीको तल रहेको हुन्छ । मुख्य काम वीर्य स्वस्थ राख्ने हो । उमेर बढ्दै जाँदा र अन्य विभिन्न कारणले पुरुषहरुमा प्रोस्टेटको समस्या देखिन थाल्छ ।
हुनत प्रोस्टेटको समस्या कुनै पनि उमेर समूहका पुरुषमा देखा पर्न सक्छ । तर विशेषगरी ४० वर्ष नाघेका पुरुषहरुमा यो समस्या अझ बढी देखा पर्ने गरेको छ । ४० वर्षपछि प्रोस्टेट ग्रन्थी वृद्धि हुँदै जाने कारणले पनि मूत्रनलीमा अवरोध उत्पन्न हुनाले धेरै पुरुषमा प्रोस्टेटको समस्या देखा पर्छ ।
कसरी थाहा पाउने त प्रोस्टेट भएको ?
यदि तपाइँंलाई छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुहिने, नाइटोमुनि दुख्ने, बारम्बार पिसाबमा संक्रमण भइरहने, यौन इच्छा कम हुने, वीर्य खस्दा पोल्नेजस्तो समस्या छ र यदि यीमध्ये कुनै पनि लक्षण देखिएको छ भने तपाईंलाई प्रोस्टेट ग्रन्थीसम्बन्धी संक्रमण भएको हुनसक्छ । यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ डाक्टरलाई देखाउन जरुरी हुन्छ ।
उपचार विधि
समयमै उपचार गरेमा प्रोस्टेटको समस्या निको पार्न सकिन्छ । प्रोस्टेटको उपचार २ प्रकारले औषधि र शल्यक्रियामार्फत गर्न सकिन्छ । प्रोस्टेटको साइज कति बढेको छ त्यसको आधारमा उपचार शुरु हुन्छ । समस्या सामान्य छ भने त्यसलाई औषधिमार्फत निको पार्न सकिन्छ भने जटिल भइसकेपछि शल्यक्रिया मार्फत उपचार गरिन्छ । प्रोस्टेटमा जति छिटो उपचार गर्यो त्यति नै उपचार सहज हुन्छ र परिणाम पनि राम्रो हुन्छ । जसरी ३० वर्ष काटेपछि महिलाले नियमित पाठेघरको जाँच गर्नुपर्छ त्यसैगरी ४० वर्ष पुगेका पुरुषले पनि आफनो नियमित प्रोस्टेटको परीक्षण गराउन आवश्यक छ । यसरी जाँच गर्दा केही समस्या भएमा छिटै पत्ता लाग्छ र उपचारमा सजिलो हुन्छ ।
प्रोस्टेटको समस्या देखा परेपछि यसबाट बच्न नियमित व्यायाम गर्ने, दैनिक कम्तीमा तीन लिटर पानी पिउने र नियमित रूपमा पिसाबको जाँच गर्नुपर्छ । त्यसका साथै खानामा म्याग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरजस्ता ड्राइफ्रुट्स खानु राम्रो मानिन्छ । त्यसैगरी मकै, गहुँ, जौ, फापर, कोदो, बोक्रासहितका गेडागुडीजस्ता फाइबरयुक्त खानेकुरा खान उपयुक्त हुन्छ । यसले प्रोस्टेट समस्या भएकालाई मात्र हैन अन्य व्यक्तिले पनि खानु राम्रो मानिन्छ ।
यसैगरी हरियो सागसब्जी, फलफूल र तरकारी नताछी खाने र काँक्रो, गाँजर, मूला र चुकन्दर नियमित सलादको रूपमा खानु प्रोस्टेटका बिरामीका लागि राम्रो मानिन्छ ।
एक पटक प्रोस्टेटको समस्या देखा परेका बिरामीहरुले धूमपान, मदिरापान र सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन । साथै सफ्ट ड्रिंक्स, तारेको, भुटेको, अमिलो, पिरो, मसालेदार र चिल्लो खानेकुराबाट टाढै रहनुपर्छ ।
(युरोलोजिस्ट डा दीपक रौनियारसँगको कुराकानीमा आधारित)
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति