Health TV Online
Health TV Online

अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यबारे कसले कुरा गर्ने ?

अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यबारे कसले कुरा गर्ने ?

कल्पना आचार्य \काठमाडौं : हाम्रो समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा कमै मात्रामा चर्चा हुने गर्छ । त्यसमा पनि अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुरा हुनु त निकै परको कुरा हो । नेपाल मात्र हैन् एसिया प्यासिफक क्षेत्रका देशहरुमा अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य प्राथमिकतामा नपर्दा सेवा दिन समस्या उत्पन्न भएको विज्ञहरुले बताएका छन्।

‘दशौं एशिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेक्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारको एघारौं सिरिजमा विज्ञहरुले सो बताएका हुन्। भर्चुअल रुपमा भएको छलफल कार्यक्रममा विज्ञहरुले सरोकारवालाको प्राथमिकतामा अपांगता भएकाको यौन तथा प्रजनन स्वास्थ्य नपर्ने कारणले पनि यो सेवाबाट उनीहरु बञ्चित भएको बताएका छन्। म्यान्मारकी फु नयुवुनले भनिन्, ‘सबैको फोकस एरिया अपांगता भएका व्यक्तिको शिक्षा र रोजगारमा रहेको र उनीहको प्रजनन स्वास्थ्य अधिकारकारलाई लिएर छलफल नै नहुने बताइन्। उनले धेरैले यौन तथा प्रजनन स्वास्थ्यको कुरा बाहिर खुलेर गर्न नसक्दा परिवार व्यवस्थापनमा समेत समस्या हुने गरेको जनाइन्।

यता नेपालमा पनि उस्तै समस्या रहेको बताउँछिन् अपांंगता क्षेत्रमा काम गर्ने संस्था भिजिबल इम्प्याक्टकी कार्यक्रम अधिकृत सिबु श्रेष्ठ। उनले नेपालमा अपांगता भएका व्यक्तिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा चाहिन्छ भन्ने कुरामा धेरै जना सचेत नभएको पाइएको बताइन्। उनले मेरी स्टोप्स इनटरनेशनलले गरेको एक अध्ययन अनुसार ९६ दशमलब ६ प्रतिशत अपांगता भएका युवा तथा किशोरकिशोरी परिवार नियोजनको पूर्ण जानकारी नै नभएको पाइएको बताइन्। सो अध्ययन अनुसार ९४ प्रतिशत अपागंता भएका युवाहरुले सुरक्षित गर्भपतनका बारेमा सुनेका छन्। त्यसैगरी ३९ प्रतिशतलाई मात्र नेपालमा सुरक्षित गर्भपतन बारे कानून छ भन्ने थाहा भएको पाइएको छ । अध्ययनले ५४ प्रतिशत स्वास्थ्य संस्था अपांगमैत्री नभएको समेत देखाएको छ । यसैगरी अध्ययनकै कुरा गर्दा ८० प्रतिशतमा यौन तथा प्रजनन स्वास्थ्यलाई लिएर कुनै न कुनै गलत धारणा र बुझाई रहेको पाइएको श्रेष्ठले बताइन्। । सो अध्ययनमा १५ देखि ३० वर्षका ४५ जना अपांगता भएका युवाहरुलाई समावेश गरिएको थियो । सहभागीहरुले आफूहरु खुलेर कुरा गर्न नसकेको र अपांगता भएकालाई पनि यो सेवा चाहिन्छ र भनेर यसबाट बञ्चित गराउने र त्यस्तै वातावरण भएका कारण सेवामा पहुँच नभएको बताएका थिए ।

छलफल कार्यक्रममा भियतनामकी आज नाइजेनले भियतनाममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा निकै प्रगति भएको पाइए पनि अपांंगता भएका व्यक्तिको यौन अधिकारको कुरा गर्दा भने धेरै पछि रहेको जिकीर गरिन्। भियतनाममा ८० प्रतिशत विवाहित महिलाले कुनै न कुनै परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यही सेवा अपांगता भएका व्यक्तिमा पुग्न नसकेको उनले बताइन्। उनका अनुसार भियतनाममा अपांगता भएका व्यक्तिहरुको अधिकारको लागि पनि कानून र राम्रा व्यवस्था छन् । उनीहरुको शिक्षा रोजगारमा सरकारले लगानी पनि गरेको छ तर अपांगता भएका व्यक्तिहरुको प्रजनन अधिकारका लागि भने खासै कतै सम्बोधन गरेको पाइँदैन् उनले थपिन ।

यसैगरी कार्यक्रममा यूथ एडभोकेसी नेटवर्क श्रीलंकाकी कार्यक्रम निर्देशक दक्षिताले हरेक अपांगता आफैमा फरक हुने र उनीहरुको आवश्यकता त्यही अनुसार निर्धारण हुने बताइन । उनले श्रीलंकामा २०१५ मा गरिएको एक अध्धयन अनुसार ७० जना सुन्ने क्षमता नभएकामध्ये १८ प्रतिशतलाई कम्तीमा ३ वटा परिवार नियोजनकाबारेमा जानकारी भएको पाइयो । यसैगरी ५३ प्रतिशत युवालाई कन्डम कसरी प्रयोग गर्ने भन्ने जानकारी भएको पाइयो भने ३५ प्रतिशत युवतीलाई मात्र यसले एचआइभीबाट बचाउँछ भन्ने जानकारी भएको पाइएको उनले बताइन ।

विज्ञहरुले अपांगता एउटा विशेष शारीरिक अवस्था भएकाले यो समूहलाई पनि अन्यलाई जस्तै यौन तथा प्रजनन स्वास्थ्य सेवा आवश्यक पर्नेमा जोड दिएका थिए । उनीहरुले अपांगता भएका व्यक्तिहरुक लागि काम गर्ने संघ संस्थाले अबदेखि उनीहरुको प्रत्यक्ष जीवनसंग जोडिएको यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले भने, अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यकाबारेमा हामीले कुरा नगरे कसले गर्ने ?

 

 

थप समाचार