Health TV Online
Health TV Online
Health TV Online

६ महिनादेखि ठप्प भएकाे मिर्गौला प्रत्यारोपण सेवा शुरू

६ महिनादेखि ठप्प भएकाे मिर्गौला प्रत्यारोपण सेवा शुरू

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना महामारी नियन्त्रण गर्नका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन शुरु गर्यो । त्यसयता मिर्गौला प्रत्यारोपण सेवा पनि ठप्प भएको थियो ।

शुरुमा केही दिनका लागि बन्द गरिएको भनिए पनि सेवा ६ महिना भइसक्दा पनि सूचारु हुन सकेको थिएन  । जसका कारण तुरुन्त प्रत्यारोपण गर्नुपर्ने बिरामीहरु उच्च मारमा परेका थिए । यही साता मात्र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण शुरु गरेको छ । ६ दिन अघि मात्र एक जना बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक प्रा डा प्रेम ज्ञवालीले बताए । उनले भने, ‘शुरुमा कोरोना भाइरसको संक्रमण कस्तो हुने, कति क्षति पुराउँछ भन्ने नै अन्यौल थियो । त्यसैले पहिलो २ \३ महिना त अन्यौल नै भयो । त्यसपछि भने प्रयास गर्दा गर्दै पनि सम्भव भएको थिएन ।’  गएको साता देखि भने शुरु गरेका छौं । यही साता २ जनाको मिर्गौला प्रत्यारोपण गरेको पनि उनले जानकारी दिए ।

वर्षेनी सबैभन्दा धेरै संख्यामा बिरामीको मिर्गौला प्रत्यारोपण सेवादिने मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा समेत यो सेवा ठप्प भएपछि बिरामी मारमा परेका थिए । प्रत्यारोपण गरेका बिरामीमा प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि त्यो रिस्क लिन सकिएन्, अब भने बिरामीलाइ अन्याय नै हुन्छ भनेर प्रत्यारोपण शुरू गरेको  केन्द्रका निर्देशक डा ज्ञवालीले जनाए ।

उता मिर्गौला प्रत्योरोपण गर्दै आएको त्रिवि शिक्षण अस्पतालमा भने यो सेवा अझै शुरु हुन सकेको छैन्। साताको दुई दिन प्रत्यारोपण गर्दै आएको अस्पतालले लकडाउन यता यो सेवा दिन नसकेको अस्पतालकी मिर्गौला रोग विशेषज्ञ प्रा डा दिव्या सिंह शाहले बताईन्। उनले भनिन, ‘शुरुमा हामीले बिरामीलाइ नै जाेखिम हुने भएकाले सेवा बन्द गरेका हौं । पछि शुरु गर्ने छलफल हुँदै थियो, कोरोना झनै बढ्न थालेपछि सेवा सूचारु गर्ने कुरामा फेरि छलफल हुनै पाएको छैन्। उनले सेवा शुरु नहुँदा बिरामीले दुख पाएको कुरा स्विकार गर्दै यसलाइ अब छिटै शुरु गर्ने जनाइन्। उता सरकारी अस्पताल वीर र मिर्गौला प्रत्यारोपण गर्दै आएको निजी स्तरको ग्रान्डी अस्पतालमा पनि हाल यो सेवा ठप्प नै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\ ७६ मा शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्रै एक वर्षमा १८३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ५५ जनाको र वीर अस्पतालमा १४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जनाइएको छ ।

मिर्गौलाले काम गर्न छोडेपछि बिरामीसँग दुईवटा मात्र विकल्प हुन्छ । पहिलो मिर्गौला प्रत्यारोपण र अर्को नियमित डायलाइसिस । प्रत्यारोपण कुनै कारणले हुन नसक्नेहरु अनिवार्य जीवनभर डायलाइसिस गराउनुपर्ने हुन्छ ।

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार