Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरबारे सचेतना जगाउन क्यान्सर सर्भाइभर्स सोसाइटीले गर्‍यो वेभिनार

क्यान्सरबारे सचेतना जगाउन क्यान्सर सर्भाइभर्स सोसाइटीले गर्‍यो वेभिनार

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबारे सचेतना जगाउनका लागि नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले वेभिनार गरेको छ । कोरोना महामारीका कारण भर्चुअल रुपमा गरिएको छलफल कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ एवं क्यान्सर रोग लागेर यसलाई जितेकाहरुको सहभागिता रहेको थियो ।

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । सोही अवसरमा आयोजित छलफल कार्यक्रममा सोसाइटीकी अध्यक्ष प्रमिता खनालले क्यान्सर रोग उपचार गरेपछि निको हुने भन्दै यसका लागि परिवार र आफन्तको दरो साथ चाहिने बताइन्। आफू पनि क्यान्सर जितेर आएको भन्दै यो रोग लाग्दैमा जीवन समाप्त भयो भन्ने नसोचेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।

यसैगरी कार्यक्रममा स्तन क्यान्सर रोग विशेषज्ञ डा कपेन्द्र शेखर अमात्यले क्यान्सर रोग बेलैमा उपचार गरेमा निको हुने भन्दै यसबारे सचेत भने हुनुपर्ने बताए । उनले स्तनक्यान्सरको उपचारमा स्तन बचाएर गर्न सकिने प्रविधि आएको र यसले धेरै महिला दिदी बैनीलाई सजिलो भएको जानकारी दिए । स्तन क्यान्सरमा क्यान्सरपछि यसलाई निकाल्न पर्ने भएकाले यो सौन्दर्यसँग पनि जोडिएको भन्दै यो प्रविधिले स्तन बचाएर शल्यक्रिया गर्न सकिने जनाए ।
यसैगरी डा प्रफुल्ल शाक्यले क्यान्सर लाग्दैमा आत्तिहाल्ने भन्दा पनि यसबाट कसरी उपचार गरेर छिटो निको हुने तर्फ लाग्नुपर्ने बताएका थिए । उनले स्तन क्यान्सर महिला र पुरुष जो कोहीलाई हुन सक्ने भए पनि हर्मोनका कारण महिलामा बढी हुने जानकारी दिए । उता अर्का विशेषज्ञ डा अरुण शाहीले पनि क्यान्सर निको हुने रोग भएकाले समयमै उपचारमा जाँदा पूर्ण रुपमा निको हुने बताए ।

भर्चुअल रुपमा गरिएको छलफलमा क्यान्सर जितेकाहरुले क्यान्सरको उपचारमा भोगेका समस्या, अप्ठेरा स्थिती र यसलाई जितेपछिको खुशी साटेका थिए । उनीहरुले उपचारमा रहेका क्यान्सरका बिरामीको हौसला बढाउन परिवार र आफन्तको साथ साथै नियमित उपचारको आवश्यकता रहेको जनाएका थिए । क्यान्सरबारे सचेतना जगाउन सोसाइटीले नियमित रुपमा छलफल गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार