Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अहिले स्वास्थ्यकर्मीलाई तिरष्कार गरेर भोलि आफू बिरामी पर्दा कहाँ जानुहुन्छ ?

अहिले स्वास्थ्यकर्मीलाई तिरष्कार गरेर भोलि आफू बिरामी पर्दा कहाँ जानुहुन्छ ?

सन्तोष लम्साल

यतिबेला पूरै विश्व कोरोना भाइरसको त्रासमा बाँचिरहेको छ । नेपालमा पनि कोरोना भाइरसले ५ सय बढी मानिसको ज्यान लिइसकेको छ भने ८२ हजार भन्दा बढी मानिस यसको संक्रमण मा परिसकेका छन्। यो महामारीको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई भ्याई नभ्याई छ । एकातिर कामको प्रेसर बढेको छ भने अर्कोतिर आफैलाई संक्रमण हुने हो की भन्ने डर त छँदैछ ।

नेपालमा कोरोना महामारी शुरु भएदेखि नै सर्वसाधारणले हामी जस्ता स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नै फेरिएको पाएको छु । केही समय अघिसम्म डाक्टर, नर्स एवं स्वास्थ्यकर्मीहरु भगवान जस्तै हुन् भन्ने नै अहिले हाम्रो नजिक हुन चाहँदैनन्। स्वास्थ्यकर्मीलाई कोठामा राख्दा स्वास्थ्य समस्या आउँदा काम लाग्छ भनेर प्राथमिकता दिने घरबेटीले अहिले स्वास्थ्यकर्मी हो भन्ने थाहा पाएपछि रोग सार्छ भनेर कोठा नै दिन चाहदैनन्। हामी हाम्रै देशका नागरिकलाई लागि ज्यान जोखिममा राखेर काम गरिरहेका छौँ तर हामीलाई नै यत्रो ठुलो विभेद किन ? आज हामीसँग तर्केर हिड्नेहरु बिरामी पर्दा कहाँ जानुहुन्छ ? हामीले उहाँहरुले रोग सार्नुहुन्छ भनेर उपचार गरेनौँ भने स्थिती के होला ? उहाँहरुले सोच्नुभएकै छैन्।

यस्तो महामारीका बेला ज्यानै जोखिममा राखेर, परिवार छोडेर, कतिले काखे बच्चा घरमा अरुको भरमा राखेर काम गरिहेका छन्। यस्तो बेलामा त झन स्वास्थ्यकर्मीलाई हौसला दिनुपर्ने हैन ? साँच्चिनै आजको समाजले हामी स्वास्थ्यकर्मीहरुलाई हेर्ने दृष्टीकोण यही नै हो त ? पहिला पहिला स्वास्थ्यकर्मी हुँ भनेर छाती फुलाएर हिड्ने हामी आजकल स्वास्थ्यकर्मी हुँ भन्न नै डराउनुपर्ने अवस्था आउनु बिडम्बना हो । पहिला त्यही समाजले हामीलाई भगवानका रुपमा लिन्थ्यो तर आजकल अधिकांसले अछुतको रुपमा व्यवहार गरेको पाईन्छ ।

धेरै ठाउँमा स्वास्थ्यकर्मीहरुले अपहेलना व्यहोर्नु परेको अवस्था छ । कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरु घर, डेरावाट निकालिएको अवस्था छ । छि छि र दुरदुर गरिएको अवस्था छ। आजकल अस्पतालमा काम गर्ने हो भन्ने वितिकै नाक खुच्याइएको अवस्था छ । यो बेला सरकारले पनि स्वास्थ्यकर्मीलाई मोटिभेसन गर्नुपर्ने हो । स्वास्थ्यकर्मी पनि यही समाजका नागरिक हुन्। उनीहरुका पनि परिवार छन् आफन्त छन्। उनीहरुलाई पनि रोग लाग्छ की भन्ने डर हुन्छ तर उनीहरुले कहिल्यै पनि बिरामी हेर्दिन वा काम गर्दिन भनेका छैनन्। तर हामीलाई नै अहिले गरेको व्यवहारले काममा उर्जा हैन् नैराश्यता थप्छ । त्यसैले कृपया हामी स्वाथ्यकर्मीलाई तिरष्कार हैन् कोरोना महामारी विरुद्धको लडाईमा लड्न हौसला चाहिएको छ ।

(ह्याम्स अस्पतालमा कार्यरत लम्साल मेडिकल असिस्टेन्ट हुन्। )

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार