Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

साबुन पानीले नियमित हात धोए मात्रै पनि कोरोनाको जोखिम ३६ प्रतिशतले कम हुने

साबुन पानीले हात धुने एक महिने राष्ट्रिय अभियान शुरु

साबुन पानीले नियमित हात धोए मात्रै पनि कोरोनाको जोखिम ३६ प्रतिशतले कम हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : साबुन पानीले हात धोए मात्रै पनि ३६ प्रतिशतले कोरोनाको जोखिम कम हुने भन्दै सरकारले आजदेखि एक महिनाका लागि साबुन पानीले हात धुने राष्ट्रिय अभियान शुरु गरेको छ ।

सबै सरोकारवालासँगको सहकार्यमा सरकारले यो अभियान शुरु गरेको जनाएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि हातको सफाई अनिवार्य भएकाले आजदेखि एक महिनाका लागि यो अभियान शुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतलले जनाएका छन्। कोरोना संक्रमणबाट बच्न अपनाइने तीन वटा मूल मन्त्र २ मिटरको भौतिक दूरी, मास्कको उचित प्रयोग र साबुन पानीले हात धुने रहेको छ।

नियमित हात धुने बानीले मात्रै पनि ३६ प्रतिशत कोरोना संक्रमणबाट बच्न सकिने अध्ययनले देखाएको भन्दै डा गौतलले हात धुने बानीको विकास गर्न  अत्यन्त जरुरी रहेको जिकीर गरे ।

आजका दिनदेखि कार्तिक १४ गतेसम्म यो अभियान जारी रहनेछ । हातको सरसफाई सबैका लागि ‘ह्यान्ड हाइजिन फर अल’ भन्ने नाराका साथ यो अभियान शुरु गरिएको हो । त्यसो त हरेक वर्ष अक्टोबर १५ का दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ ।

कोरोना संक्रमणबाट बच्न अपनाइने तीन उपाय मध्ये हातको सफाई प्रमुख हो ।  झाडापखाला, हैजा, जन्डिसजस्ता रोगबाट बच्न पनि हात धुने बानी महत्वपूर्ण मानिन्छ ।

नियमित हात धुने बानीले मात्रै पनि श्वासप्रश्वास सम्बन्धी समस्यामा २३ प्रतिशतले कमी, झाडापखालासम्बन्धी समस्यामा ४८ प्रतिशतले कमी ल्याउने अध्ययनले जनाएको छ । स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयको समन्वयमा यो अभियान शुरु गरिएको खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार