साबुन पानीले नियमित हात धोए मात्रै पनि कोरोनाको जोखिम ३६ प्रतिशतले कम हुने
साबुन पानीले हात धुने एक महिने राष्ट्रिय अभियान शुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : साबुन पानीले हात धोए मात्रै पनि ३६ प्रतिशतले कोरोनाको जोखिम कम हुने भन्दै सरकारले आजदेखि एक महिनाका लागि साबुन पानीले हात धुने राष्ट्रिय अभियान शुरु गरेको छ ।
सबै सरोकारवालासँगको सहकार्यमा सरकारले यो अभियान शुरु गरेको जनाएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि हातको सफाई अनिवार्य भएकाले आजदेखि एक महिनाका लागि यो अभियान शुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतलले जनाएका छन्। कोरोना संक्रमणबाट बच्न अपनाइने तीन वटा मूल मन्त्र २ मिटरको भौतिक दूरी, मास्कको उचित प्रयोग र साबुन पानीले हात धुने रहेको छ।
नियमित हात धुने बानीले मात्रै पनि ३६ प्रतिशत कोरोना संक्रमणबाट बच्न सकिने अध्ययनले देखाएको भन्दै डा गौतलले हात धुने बानीको विकास गर्न अत्यन्त जरुरी रहेको जिकीर गरे ।
आजका दिनदेखि कार्तिक १४ गतेसम्म यो अभियान जारी रहनेछ । हातको सरसफाई सबैका लागि ‘ह्यान्ड हाइजिन फर अल’ भन्ने नाराका साथ यो अभियान शुरु गरिएको हो । त्यसो त हरेक वर्ष अक्टोबर १५ का दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ ।
कोरोना संक्रमणबाट बच्न अपनाइने तीन उपाय मध्ये हातको सफाई प्रमुख हो । झाडापखाला, हैजा, जन्डिसजस्ता रोगबाट बच्न पनि हात धुने बानी महत्वपूर्ण मानिन्छ ।
नियमित हात धुने बानीले मात्रै पनि श्वासप्रश्वास सम्बन्धी समस्यामा २३ प्रतिशतले कमी, झाडापखालासम्बन्धी समस्यामा ४८ प्रतिशतले कमी ल्याउने अध्ययनले जनाएको छ । स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयको समन्वयमा यो अभियान शुरु गरिएको खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताए ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त