Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आत्महत्या रोकथाम दिवसमा ‘कोशिश’ले गर्‍यो स्वास्थ्य पत्रकारसँग छलफल

आत्महत्या रोकथाम दिवसमा ‘कोशिश’ले गर्‍यो  स्वास्थ्य पत्रकारसँग छलफल

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक स्वास्थ्य एवं मनोसामाजिक क्षेत्रमा काम गर्ने ‘कोशिश’ले स्वास्थ्य विटमा कलम चलाउने पत्रकारहरुसँग छलफल गरेको छ ।

कोरोना महामारीका कारण भर्चुअल रुपमा गरिएको छलफल कार्यक्रममा विज्ञहरुले आत्महत्या रोकथाममा मिडियाको पनि महत्वपूर्ण भूमिका हुने भन्दै यस्ता खालका समाचार बनाउँदा अझ बढी संवेदनशिल हुनुपर्ने बताए । कतिपय अवस्थामा समाचार आएपछि झनै आत्महत्याका केस बढ्ने गरेको प्रसंग उठाउँदै कसरी यसलाई कम गर्न सकिन्छ भन्ने एंगलबाट समाचार सम्प्रेषण गरिदिन विज्ञहरुले आग्रह समेत गरे ।

छलफल कार्यक्रममा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले आत्महत्याका घटना बढ्दै गएको भन्दै आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा दिन आवश्यक भएको बताए । उनले सरोकारवाला सबै निकायले आ -आफनो स्थानबाट आत्महत्या न्यूनीकरण गर्नका लागि मनोपरामर्श लगायतका कार्यक्रम चलाउन आवश्यक भएको बताए ।

यसैगरी कार्यक्रममा मनोचिकित्सक डा दिपक कुँवरले आत्महत्याको समस्यालाई सबै मिलेर कम गर्न सकिने भए पनि यसमा आउने समस्याबारे खुलेर कुरा गर्न नसक्दा अप्रिय घटना हुने गरेको बताए । उनले आत्महत्या तथा मानसिक स्वास्थ्यका समाचार लेख्दा संवेदनशिल नभएमाा यसले उल्टो यस्ता घटनालाई बढावा दिने हुँदा यसबारे बुझेर मात्र समाचार दिनुपर्ने बताए । उनले एउटा अध्ययनमा एक जना सेलिब्रेटीले आत्महत्या गरेपछि आउने समाचारका कारण १३ प्रतिशतसम्म आत्महत्या बढ्ने गरेको जनाए । योसँगै आत्महत्याका लागि भएका विधी अर्थात कसरी आफनो ज्यान लियो भन्नेबारेमा समाचार आउँदा सोही विधि अपनाएर आत्महत्या गर्नेको संखया ३० प्रतिशतले बढाएको पनि अध्ययनमा उल्लेख भएको जनाए ।

कार्यक्रममा भर्खर मात्र रिटायर्ड भएका डीआइजी पिताम्बर अधिकारीले नेपालमा आत्महत्याकाक घटना सिधै प्रहरीसँग जोडिने भएकाले पनि यसको रेकर्ड प्रहरीसँग हुने तर किन आत्महत्या बढिरहेको छ भन्ने कारण नहुने हुँदा यस्ता कारणबारे छलफल गरेर यसलाई न्यूनिकरण गर्न तर्फ स्पष्ट कार्यक्रम लिएर जानुपर्ने बताए ।

छलफल कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले मानसिक स्वास्थ्यका बारेमा पत्रकारलाई विशेष तालिम र छलफलको आवश्यक रहेको बताइन्। उनले पत्रकारले आफूले लेखेको समाचारले जानेर आत्महत्या बढोस् भनेर नचाहने तर यसको वारेमा  कसरी प्रस्तुत गर्दा  आत्महत्या न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी नपाउँदा यस्तो भएको हुनसक्ने भन्दै यसबारेमा मिडिया र सरोकारवाला निकायले मिडियासँग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन्।

हरेक वर्षको सेप्टेम्बर १० का दिन विश्वभरी आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै