Health TV Online
Health TV Online

स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

अस्पताल भन्छ, हाम्रो कुनै पनि सेवा रोकिँदैन

स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालमा शनिबार मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालमा भर्ना भएका रौतहटका २९ वर्षीय पुरुषको शनिबार मृत्यु भएको र उनको स्वाब परीक्षण गरिएकोमा आइतबार राती रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले बताए ।

उनले भने, ‘बिरामी हामीकहाँ सिकिस्त अवस्थामा आउनुभएको थियो त्यसैले उहाँलाई हामीले कोभिड- १९ का बिरामीको लागि छुट्याइएको आइसीयूमा राखेर उपचार शुरु गरेका थियौं । उपचारकै क्रममा उहाँको शनिबार साँझ मृत्यु भएको हो ।’ मृत्यु हुनु अघि नै उनको स्वाब संकलन गरी परीक्षणका लागि पाटन अस्पताल पठाइएको उनले जानकारी दिए । रिपोर्ट ढिलो आउँदा उनको शव अस्पतालमै राखिएको र आज सेनाले व्यवस्थापन गर्ने डा रुपाखेतीले बताए ।

बिरामीमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि रौतहटबाट ल्याएको भएपनि राजधानीका धेरै अस्पताल पुर्याएर लिन नमानेपछि अन्तिममा स्टार अस्पताल ल्याइएको थियो । स्टार अस्पतालले कोरोना शुरु भएदेखि नै तयारी गरेकाले स्वास्थ्कर्मी एक्स्पोज नभएको जनाएको छ । अस्पतालले उनलाई कोभिड- १९ को आशंका गरी त्यही अनुसार स्वास्थ्यकर्मीले पीपीई लगाएर उपचार गरेकाले र उनलाई राखिएको आइसीयू छुट्टै  भएकाले अस्पतालको सेवा प्रभावित नहुने डा रुपाखेतीले जनाएका छन्।

अस्पताल भन्छ, हाम्रो कुनै पनि सेवा रोकिँदैन

स्टार अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपनि कुनै पनि सेवा अवरुद्ध नहुने बताएका छन्। उनले आफना सम्पूर्ण स्वास्थ्यकर्मीले सुरक्षाका उपाय अपनाएर बिरामीको सेवामा लागेकोले उनीहरु कसैलाई पनि क्वारेन्टाइनमा बस्न नपर्ने र सेवा पनि अवरुद्ध नहुने बताएका हुन्। डा रुपाखेतीले भने, ‘हामीले कोभिड- १९ शंका लागेका बिरामीका लागि छुट्टै वार्ड तथा आइसीयू बनाएका छौं । त्यही कारणले पनि स्वास्थ्यकर्मी एक्स्पोज हुने कुरै आउँदैन्।सुरक्षाको हिसाबमा शुरुदेखि नै तयारी अवस्थामा छौ र सचेत छौं।

अस्पतालले सोही दिन बिरामीको स्वाब संकलन गरेर परीक्षणको लागि पाटन अस्पताल पठाएको भए पनि बढी लोडका कारण अस्पतालले आइतबार राती मात्र रिपोर्ट दिएको उनले बताए । रिपोर्ट ढिलो आउँदा बिरामीको उपचारमा निकै समस्या पर्ने गरेको उनको भनाई छ । स्टार अस्पतालले स्वास्थ्यकर्मी र बिरामीका लागि सुरक्षाका सबै संयन्त्र प्रयोग गरेकाले सेवाग्राहीलाई ढुक्कसँग सेवा लिन आउन पनि उनले आग्रह गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार