अबको तीन महिनामा ३९ हजार संक्रमित पुग्न सक्ने मन्त्रालयको अनुमान, ५ स्थानमा पीसीआर मेशिन थप्दै
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तीन महिना अर्थात भदौको अन्तिमसम्म ३९ हजार कोरोना संक्रमित फेला पर्नसक्ने अनुमान गरेको बताएको छ ।
शनिबार स्वास्थ्य पत्रकारहरुसँगको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अहिलेको संख्या हेर्दा भदौसम्म ३९ हजार जति संक्रमित थपिने अनुमान गरेको र त्यही बमोजिम रणनिती बनाउन शुरु गरेको बताएका हुन्। मन्त्री ढकालले भने, ‘अहिले दैनिक रुपमा जुन गतिमा संक्रमित थपिएका छन् त्यसको आधारमा अनुमान गरिएको हो । तलमाथि त हुनसक्छ ।’ उनले परीक्षणको दायरा बढाउने विषयमा जनसंख्याको २ प्रतिशतलाई परीक्षण गरिने कुरा दोहोर्याउँदै असार पन्ध्र भित्रै दैनिक १० हजार जनाको काेराेना परीक्षण गरिने गरी प्रयोगशालाको क्षमता वृद्धि गरिने जानकारी दिए ।
उनले पत्रकारहरुको प्रश्नमा स्वास्थ्य मन्त्रालयले कानूनसम्मत स्वास्थ्य सामग्रीको खरिद गरेको र यसमा शंका गर्नुपर्ने कुरा नरहेको जिकीर गरे । उनले पत्रकारहरुलाई आफूलाई अनियमितता भएको भनि समाचार लेख्नेले भोलि गलत समाचार लेखेछु भनेर पछुताउनुपर्ने हुनसक्छ भन्दै यस्ता कुरा बुझेर मात्र लेख्न आग्रह गरे । उनले आफू मन्त्रालयमा सम्पत्ति जोड्नका लागि नआएको भन्दै लोभ र प्रभावमा नपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले परीक्षणको दायरा बढाएर दैनिक १० हजार बनाउनका लागि उपत्यकामा ३ सहित ५ स्थानमा पीसीआर मेशिन थप्न लागिएको जानकारी दिए । सचिव अर्यालले काठमाडौंभित्र नेपाली सेनाको छाउनी अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल र राजधानी बाहिर दैलेख र डडेल्धुरामा पीसीआर परीक्षण गर्नका लागि प्रयोगशाला थप गर्ने बताए ।
छलफल कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले अझै कम्तीमा दुई महिनाका लागि सामान पुग्ने गरी मौज्दात गरिएको र केही आउने क्रममा रहेको जानकारी दिए ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिलेसम्म ९८ प्रतिशत संक्रमित बाहिरबाट आएको भन्दै समूदाय स्तरमा कोरोना नफैलिएको बताए । उनले कन्ट्याक्ट टेसिङका लागि जनशक्ति थप गर्ने कार्य अघि बढिसकेको पनि जानकारी दिए ।
यसैरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले स्वाब होल्ड भएको कुरामा अमेरिका यूकेका सुविधासम्पन्न ल्याबमा पनि केही समयका लागि स्वाब होल्ड हुने देखिएको भन्दै नेपालमा पनि जनशक्ति, प्रयोगशालाको क्षमता आदीका कारण केही नमुना होल्ड भइरहेको बताईन्। तर उनले अब भने बिस्तारै होल्ड हुने क्रम घटेको र पीसीआर मेशिन थप हुनासाथ समस्या कम हुँदै जाने जिकीर गरिन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित