Health TV Online
Health TV Online
Health TV Online

क्वारेन्टाइनबाट घर फर्केका ५८ जनामा देखियो कोरोना

क्वारेन्टाइनबाट घर फर्केका ५८ जनामा देखियो कोरोना

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएका ५८ जनाको कोरोना रिपार्ट पोजिटिभ आएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनबाट घर पठाएकामध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गाउँपालिकाले कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी एक हप्ताअघि घर पठाएको थियो।

कोरोना परीक्षणको रिपोर्ट नआउँदै घर पठाएका गन्यापधुरा गाउँपालिकाका ५८ जनामा संक्रमण भएको रिपोर्ट बिहीबार आएपछि गाउँपालिकाभर नै सन्त्रास फैलिएको छ।

गन्यापधुरा स्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्यालका अनुसार क्वारेन्टाइनमा राखेको १४ दिनसम्म कसैमा पनि कोरोनाको कुनै पनि लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट आउन ढिला भएकोले क्वारेन्टाइनबाट घर पठाइएको हो।उनले भने, ‘रिपोर्ट आउन ढिला हुने र कुनै पनि व्यक्तिमा पनि कोरोनाको लक्षण देखिएको थिएन त्यसैले हामीले होम क्वारेन्टाइनमा बस्नु बनेर घर पठाएका हौं,आज उहाँहरुको रिपोर्ट पोजेटिभ आएको छ।’

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार डडेल्धुरा जिल्लाका ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। गन्यापधुरा गाउँपालिकाका ५८, परशुराम नगरपालिकाका २१ र अजयमेरु गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

पीसीआर परीक्षणको रिपोर्ट नआउँदै स्थानीय तहहरुले घर पठाउँदै गर्दा क्वारेन्टाइन बसेका परिवारका साथै छिमेकीहरुलाई समेत कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार