Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा एकैदिन थपिए २७ जना संक्रमित

सुदूरपश्चिममा एकैदिन थपिए २७ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा मंगलबार एकै दिन थप २७ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टाइनमा रहेका २०, ३५ र ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ।

धनगढी उप–महानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टानमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टानमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टानमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

यस्तै सुर्खेतमा गरिएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी ९ जनामा कोरोना पुष्टि भएको छ। अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा सोमाबर साँझ मात्रै सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका ७३ जना संक्रमितमध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने बझाङ र बाजुराका एक–एक संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। यहाँका एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ६ जना प्रदेशभित्रबाटै निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार