Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘हिटेड टोबाको प्रडक्ट’ र ‘ई- सिगरेट्स’ मा बन्देज लगाउन अभियान

‘हिटेड टोबाको प्रडक्ट’ र ‘ई- सिगरेट्स’ मा बन्देज लगाउन अभियान

क्षयरोग तथा फोक्सोजन्य रोग विरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था द युनियनले ‘हिटेड टोबाको प्रडक्ट’ र ‘इलेक्ट्रिक सिगरेट्स’ को उत्पादन र बिक्रीवितरणलाई बन्देज गर्नुपर्ने अभियान चलाउने भएको छ।  विश्व धुम्रपानरहित दिवसको अवसर पारेर यूनियनले यस्तो अभियान चलाउन लागेको हो ।

विश्व धुम्रपानरहित दिवस को पूर्वसन्ध्यामा युनियनले हिटेड टोबाको प्रडक्ट’ तथा इलेक्ट्रिक सिगरेट्सको बढ्दो बिक्री–वितरणलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम गर्ने भएको हो। विश्वका झन्डै ८० प्रतिशत धुम्रपानका अम्मलीहरू न्यून तथा मध्यम आय भएका मुलुकमा रहेको बताउँदै युनियनले ‘किन बन्देज नै अचुक उपाय हो ?  किन न्यून तथा मध्यम आय भएका मुलुकले ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’को बढ्दो बिक्री–वितरणलाई रोक्नैपर्छ ? भन्ने  कार्यपत्रको निचोडको आधारमा यी उत्पादनको निषेधको नीति अघि सारेको हो ।

ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ का उत्पादन कम्पनीले युवा पुस्तालाई लक्षित गरी उत्पादन गरेका पदार्थले  सुर्तीजन्य पदार्थका उपभोक्तालाई कोभिड–१९ ले थपेको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यसपालिको विश्व धुम्रपानरहित दिवसकोे कार्यपत्र तय गरिएको हो । विश्वभर हरेक वर्ष मे ३१ का दिन विश्व धुमपानरहित दिवसका रुपमा मनाउने गरिन्छ ।

यो कार्यपत्रले ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ ले जनस्वास्थ्यमा पार्न सक्ने असरबारे वैज्ञानिक तथ्यहरू समेट्छ । त्यस्तै, नयाँ पुस्तालाई आकर्षित गर्न र बजार विस्तार गर्न यस्ता सामग्री उत्पादक कम्पनीले चालेको व्यावसायिक कदमविरुद्ध सरकारलाई अझ चनाखो बनेर निरुत्साहित गर्न ध्यानाकर्षण पनि यो कार्यपत्रले गराउँछ ।

‘न्यून तथा मध्यम आय भएका मुलुकको ठूलो हिस्सा सुर्तीजन्य पदार्थको महामारीमा फसेको छ,’ युनियनका सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशक डा. गान क्वानको भनाइ छ । महामारीको यो वेला पनि थप नसायुक्त उत्पादन बजारमा आउँदा सरकारको कामलाई नै चुनौती दिनेछ, स्वास्थ्य संयन्त्रमा झन् बोझ थपिनेछ भने विश्व स्वास्थ्य संगठनले अघि सारेको सुर्तीजन्य पदार्थ नियन्त्रणको कार्यतालिकामै असर पर्नेछ । ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ उत्पादन एकदमै नाफामूलक धन्दा हुन् ।

२०१८ मा ई–सिगरेट्सको कारोबार १५ बिलियन अमेरिकी डलरबराबरको थियो भने २०२१ मा हिटेड टोबाको प्रडक्ट’को कारोबार झन्डै १८ बिलियन अमेरिकी डलरबराबरको हुने अनुमान छ । २०१९ को ग्लोबल टोबाको इपिडेमिक रिपोर्टमा विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘ई–सिगरेटले अहिलेसम्म धुम्रपान अम्मलीमा कमी ल्याएको तथ्य छैन ।’ थप भनिएको छ, ‘निःसन्देह यस्ता उत्पादन हानिकारक छन् ।’

आजसम्म ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ को उपभोगबाट जनस्वास्थ्यमा पार्ने असरका सम्बन्धमा गरिएका अध्ययनहरू मूलतः उच्च आय भएका मुलुकमा केन्द्रित हुँदै आएका छन् । ‘किन निषेध नै उचित छ ?’ कार्यपत्रले भने सुर्तीजन्य पदार्थ उत्पादन नीति अध्ययन परिवेशको आधार फराकिलो बनाएको छ । न्यून तथा मध्यम आय भएका मुलुकमा नयाँ ढंगका सुर्तीजन्य पदार्थको व्यावसायिक उत्पादन र प्रचार–प्रसारले डरलाग्दो असर पुर्याउने गर्छ, अझ विशेषतः नयाँ पुस्ताका युवाहरूका लागि यसको छाप गहिरो पर्ने गर्छ ।

न्यून तथा मध्यम आय भएका मुलुक नै परम्परागत रूपमै सुर्तीजन्य उत्पादनले बजार लिने ठाउँ हो भने अहिले पनि विश्वका कुल अम्मलीको ८० प्रतिशत त्यहाँ बसोवास गर्छन् ।

पछिल्ला वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ । यद्यपि, प्रत्येक वर्ष यहाँ सुर्तीजन्य रोगका कारण २७ हजार एक सय ३७ जना मारिने गर्छन् । नेपालमा ३० लाख ४६ हजारभन्दा बढी वयस्कले मात्र होइन, २१ हजारभन्दा बढी बालबालिका (१०–१४ वर्ष) ले सुर्तीजन्य पदार्थ सेवन गर्ने गर्छन् । उपभोग बढाउन सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरूले नयाँ नयाँ रणनीतिहरू अख्तियार गर्ने गर्छन् । ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ पछिल्ला रणनीति भएको यूनियनको ठहर छ ।

‘ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’का बारेमा तथ्याङ्कहरू आउँदै छन्,’ युनियनका एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा. तारासिंह बम भन्छन्, ‘तर, यो प्रस्ट छ कि यसले एउटा महामारीकै रूप लिनेछ, किनकि युवा वर्ग यसको निसानामा छन् । सरोकारवाला यसमा सावधान रहनुपर्छ भन्ने युनियनको ठहर छ । नीति–निर्माताले यसलाई रोक्ने कोसिस गर्नुपर्छ । न्यून तथा मध्यम आय भएका मुलुकले त यसलाई निषेध नै गर्नुपर्छ ।’

नेपालका उच्च पदस्थ अधिकारी, सरकारी प्रतिनिधि, सामाजिक तथा गैर सरकारी संघसंस्थाहरुको इ–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ बिरुद्धको अभियानमा गरेका प्रतिबद्धता :

लेखराज भट्ट : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री,  विश्व स्वास्थ्य संगठनका अनुसार पनि ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र कुनै पनि हालतमा सुरक्षित छैन । यस्ता पदार्थको उत्पादन, आयत तथा बिक्री–वितरण रोक्न नेपाल सरकार प्रतिबद्ध छ ।

खगराज अधिकारी:  प्रतिनिधिसभा सदस्य तथा एपिक्याट अध्यक्ष , ‘ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट’ लोकप्रिय हुँदै छन् । हानिकारक छ भन्ने चेतना न्यून छ । अकाल मृत्युबाट जोगाउन हामीले ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ निषेध गर्ने नीति नै पास गर्नुपर्छ ।

निरुदेवी पाल:  संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिकी अध्यक्ष,  यसलाई तत्कालै निषेध गर्नुपर्छ । बालबालिका, युवा तथा गर्भवती महिलालाई यस्ता कुलतबाट जोगाउन जरुरी छ, त्यसैले तत्कालै ई–सिगरेटको बिक्री–वितरण रोक लगाउने निर्देशन दिनुपर्छ ।

रेणु दहाल:  मेयर, भरतपुर महानगरपालिका,  ई–सिगरेटको बढ्दो प्रयोग र यसले स्वास्थ्यमा पु¥याउने सम्भावित असरका सम्बन्धमा म सचेत छु । युनियनको ई–सिगरेट्स र ज्भहिटेड टोबाको प्रडक्ट निषेध गराउने विषयमा मेरो समर्थन छ ।

पुस्करराज नेपाल:  उप–सचिव तथा सदस्यसचिव सुर्तीजन्य पदार्थ नियन्त्रण तथा अनुगमन समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,  सुर्तीजन्य उत्पादन गर्ने कम्पनीले युवाहरूलाई लक्षित गर्दै चलाइरहेको प्रचार–प्रसारले ई–सिगरेटको प्रयोग बढ्दो छ । त्यसैले, यस्ता उत्पादनलाई बन्देज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विद्यमान सुर्तीजन्य पदार्थ नियन्त्रण कानुन परिमार्जन गर्ने गृहकार्यमा लागेको छ ।

आनन्दबहादुर चन्द:  अध्यक्ष, एक्सन नेपाल,  सुर्तीजन्य उत्पादन गर्ने कम्पनीले युवाहरूलाई गलत दिशामा डोर्याइरहेका छन् ।  ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छैन भन्दै उपयोग गर्न उक्साइरहेका छन् । त्यसैले सरकारले त्यस्ता हानिकारक वस्तुको प्रचार–प्रसार, बिक्री–वितरण तथा निर्यातमा हस्तक्षेप गर्नुपर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि