रुकुम पूर्वमा पहिलो पटक एम्बुलेन्स
हेल्थ टिभी अनलाइन\रुकुम पूर्व : जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ। हिमाली र दुर्गम रुकुम (पूर्व) मा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ।
कोरोना भाइरस महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहनेगरी एम्बुलेन्स उपलब्ध गराउन थालिएको हो। ‘जिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो समयदेखि पहल गरिए पनि ढिला भइरहेको थियो’, प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले भने, ‘तर कोरोना महामारीको उच्च जोखिम रहेको भन्दै जिल्लालाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराइएको हो।’
शुक्रवार साँझसम्म एम्बुलेन्स जिल्लामा आइसक्ने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए। कोरोना भाइरस जाँचका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, आपूर्ति व्यवस्थापन केन्द्रले थप स्वास्थ्य सामग्री पनि पठाएको उनको भनाइ छ। ओलीका अनुसार जिल्लामा पठाइएका थप स्वास्थ्य सामग्रीमा २० थान पीपीई, सर्जिकल मास्क र सेनिटाइजरलगायत छन्।
यातायातको सुविधा पुगेका ठाउँमा पनि मानिसले एम्बुलेन्स र अन्य सवारी साधनको अभावले अकालमै ज्यान गुमाएका घटना धेरै छन्। अब त्यस्ता समस्याका दिन सकिएको भूमे गाउँपालिका वडा नम्बर ६ की सविना बुढाले बताइन्। जिल्लामा एम्बुलेन्स चलाउनका लागि जिल्ला अस्पतालले चालकको व्यवस्था गर्ने बताइएको छ। अब भने जिल्लामा २४ सै घण्टा बिरामीलाई सेवा दिनेगरी एम्बुलेन्स तयारी अवस्थामा राखिने छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम