Health TV Online
Health TV Online
Health TV Online

मध्यपुर थिमीमा कोरोना उपचारको तयारी पूरा

मध्यपुर थिमीमा कोरोना उपचारको तयारी पूरा

हेल्थ टिभी अनलाइन\भक्तपुर : मध्यपुर थिमी नगरपालिकाले विदेशबाट फर्किएका ५३ को नमुना संकलन गरी कोभिड १९ को परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिएको छ।

कोरोना संक्रमित बिरामीको उपचारका लागि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमार्फत गरेको तयारीबारेमा  जानकारी दिन मंगलवार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सबै वडामा गरेको सर्वेक्षणमा विभिन्न १५ देशबाट फर्किएका ६५ को पहिचान गरी ५३ को नमूना संकलनसहित परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए।

बाँकी १२ जनामध्ये केही गाउँ फर्किसकेका र केही सेल्फ क्वारेन्टाइनमा १४ दिन बिताइसकेको जानकारी आएको उनको भनाइ छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० शय्याको सुविधायुक्त आइसोलेसन वार्ड तयार रहेको उनले बताए।‘एक डेलिकेटेड एम्बुलेन्स, एक एक्सरे मेसिन, दुई भेण्टिलेटरसहितको १० शय्याको आइसोलेसन, २० जना क्षमताको क्वारेन्टाइन र आवासीय सेवासहितको २४सै घण्टा चिकित्सकसहित स्वास्थयकर्मीको टोली तयार छ’, उनले भने।

कोरोना सङ्क्रमित बिरामी आएमा आपतकालीन अवस्थामा प्रयोग गर्ने गरी विभिन्न तीन लेबलका १०० थान पीपीई (व्यक्तिगत सुरक्षा कवच) भण्डारण गरेको, कीटनाशक औषधि नगरपालिकाभित्र छर्किएको, पाँच करोडको आपतकालीन विपद् कोष निर्माण गरेको, राहत वितरणका लागि प्रत्येक वडालाई पाँच लाख दिएर छ हजार ५०० लाई राहत वितरण सम्पन्न गरेको उनले  बताए।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. ज्ञानकृष्ण कायस्थले इन्टरपेड नेपालका दुई र अस्पतालका दुई गरी चारजना दक्ष जनशक्ति ल्याबमा परिचालन गरेको र सामुदायिक रूपमा कोरोना परीक्षण निःशुल्क गरिएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार