Health TV Online
Health TV Online

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको छैन : महानिर्देशक श्रेष्ठ

'अभावका वेला औषधि र उपकरण पहिलेकै भाउमा पाइँदैन’

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको छैन : महानिर्देशक श्रेष्ठ

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा अनियमितता नभएको दाबी गरेको छ।

स्वास्थ्य मन्त्रालयमा आइतवार साँझ आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामग्री खरिदमा अनियमितता नभएको दाबी गरेका हुन्। विश्वभर कोरोना भाइरस संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषधि र औषधिजन्य सामग्री अभाव भएकाले मूल्य केही बढी हुनु स्वाभाविक भएको तर्क गरे।

‘संसारभर अहिले सामान छैन। संसारभर औषधि र उपकरण किन्न पाइँदैन । संसारभर किन्न नपाएको अवस्थामा केही महँगो भएको हुनसक्छ’, उनले भने, ‘हामी मितव्ययिता र पारदर्शितामा सचेत छौँ।’

किन्न लागेका र किनेका सामग्री वेबसाइटमा राखेको उनले जानकारी दिए। ‘जनतालाई गुमराहमा राख्नुपर्ने कुरा केही छैन’, उनले भने, ‘अभावको समयमा किन्दा पहिला जति भाउ थियो त्यतिमा पाइँदैन।’

सामान खरिदका लागि टेण्डर आह्वाान गर्दा पनि ल्याउन सक्ने अवस्था नभएको र लकडाउन पनि शुरु भइसकेकाले २४ घण्टाभित्र समय दिएर सबै सप्लायर्स बोलाएर छलफल गरेको उनले दाबी गरे। ‘दुई वटाको मात्रै प्रस्ताव परेपछि ‘नेगोसियसन’का आधारमा सरकारले सामान किनेका हौँ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार