कोरोना भाइरस संक्रमण रोकथाममा रेडक्रसको यस्ताे तयारी
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस संक्रमणको जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सहयोग गर्ने भएको छ।
रेडक्रसले आवश्यक सामग्री खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीलाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन खटिने जनाएको हो।
कोरोना भाइरस संक्रमण भएका व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सोअघि सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न तालिमप्राप्त टोलीको तयारी गरेको रेडक्रसले जानकारी दिएकाे छ। प्रतिकार्यका क्रममा रेडक्रस मूल्य मान्यताका साथै बाल संरक्षण, दुर्व्यवहार, लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायलाई निर्देशन दिइएको छ । कोरोना भाइरसको सम्भावित रोकथाम र प्रतिकार्यका लागि रेडक्रसले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीको सक्रियता बढाएको रेडक्रसको स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले जानकारी दिए।
संक्रमणका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ, यूएनलगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसबाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए।
आपतकालीन केन्द्र पनि सञ्चालनमा आइसकेको रेडक्रसले जनाएको छ। रेडक्रसले यस्तो विषम परिस्थितिमा फैलिने अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेय भाव कम गराउन आवश्यक कार्य गरिरहेको सेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।
शुक्रराज सरुवा रोग अस्पताल स्वास्थ्य डेस्कमा रेडक्रसका स्वयंसेवक दैनिक खटिइरहेका छन्। यसबाहेक रेडक्रस स्वयंसेवक र कर्मचारीले देश भित्रिने नाका, विमानस्थल तथा मानिसको बढी चहलपहल हुने स्थानमा स्वास्थ्य सहायता कक्षमा सहयोग गरिरहेका छन्। रक्तसञ्चार केन्द्रमा रगतको मागका लागि आउने बिरामीका आफन्तलाई पनि यस्तै सुरक्षाका उपाय अपनाइएको रेडक्रसले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित