Health TV Online
Health TV Online
Health TV Online

इटलीमा कोरोना संक्रमणको कहर : लोम्बर्डीमा थप कडाइ

इटलीमा कोरोना संक्रमणको कहर : लोम्बर्डीमा थप कडाइ

इटलीको लोम्बर्डी क्षेत्रमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न कडा नियम लगाइएको छ।

शनिवार अबेर घोषणा गरिएका नयाँ नियम अनुसार समूहमा वा एक्लै पनि घर बाहिर खेल्न र शारीरिक व्यायाम गर्न प्रतिबन्ध लगाइएको छ। सामान किन्ने मेसिन प्रयोगमा पनि रोक लगाइएको छ।

कोरोना भाइरसका कारण शनिवार मात्रै इटलीमा करिब ८०० जनाको मृत्यु भएको थियो। गत महिना कोरोना संक्रमण शुरु भएयता चार हजार८२५ जनाको मृत्यु भयो, जुन विश्वकै सबभन्दा धेरै हो।

लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोना भाइरसका कारण तीन हजार ९५ को मृत्यु भएको छ।

यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन्।

अत्यावश्यक सामग्रीका पसलबाहेक सबै व्यवसाय बन्द गर्न भनिएको छ। अस्पताल, सडक र रेलमार्ग बाहेक कुनै पनि निर्माण सम्बन्धी काममा रोक लगाइएको छ।

लोम्बर्डीमा ८ मार्चदेखि ‘लकडाउन’ गरिएको छ। शनिवार इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै आवश्यक नहुने व्यवसाय बन्द गर्न आदेश दिए। तर उनले कुन व्यवसाय अति आवश्यक हो भन्ने खुलाएनन्।

सुपरमार्केट, औषधीपसल, हुलाक र ब्याङ्कहरू खुला रहनेछन् भने सार्वजनिक यातायात पनि सञ्चालन पनि निरन्तर जारी रहनेछ।

देशका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले भने, ‘हामी मुलुकको उत्पादन इन्जिनको गति धीमा बनाउने छौँ तर पुरै बन्द भने गर्ने छैनौँ।’

कोन्टेले परिस्थितिलाई ‘युद्धपछिको हाम्रो समयको सबैभन्दा कठिन सङ्कट’ भनेर व्याख्या गरे। विभिन्न समयमा विभिन्न कडाइ गरिए पनि इटलीमा नयाँ सङ्क्रमण र मृत्यु हुने क्रम बढ्दो छ।

विश्वव्यापी रूपमा दुई लाख २० हजार जनालाई कोरोना भाइरस संक्रमण भएको र ९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

बीबीसी नेपाली

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार