Health TV Online
Health TV Online
Health TV Online

युरोपमा कोरोना संक्रमण : एकै दिन अहिलेसम्मकै सर्वाधिक मृत्यु

युरोपमा कोरोना संक्रमण :  एकै दिन अहिलेसम्मकै सर्वाधिक मृत्यु

कोरोना भाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीनवटा देशबाट प्राप्त तथ्याङ्कमा एकै दिनमा मृत्यु हुने मानिसको संख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ।

बेलायतमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको संख्या सर्वाधिक पुगेको छ। आइतवार १४ जनाको मृत्यु भएपछि मृतकको संख्या ३५ पुगेको छ।

महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् तथा सीमामा कडाइ गरेका छन्।

जर्मनीले सोमवार बिहानदेखि फ्रान्स, स्विट्जरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गर्न लागेको छ। पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गर्दैछ।

चेक सरकारले काममा जान, आवश्यक सामग्री किनमेल गर्न र कसैलाई आकस्मिक रूपमा भेट्नुपरेमा मात्र जान पाइनेगरी आइतवार मध्यरातिदेखि हिँडडुलमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध मार्च २४ सम्म लागु हुनेछ।

अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन पाउनेछैनन्। रिपब्लिक अफ आयरल्याण्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ। युरोपभरि विद्यालयहरू बन्द रहनेछन्।

चीनबाट फैलिएको कोरोना भाइरस महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उसले कोभिड १९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।

कहाँकहाँ फैलिएको छ?

सङ्कट कति गम्भीर छ भन्ने कुराको संकेत स्विट्जरल्याण्डमा २४ घण्टा भित्र संक्रमित व्यक्तिको सङ्ख्या ८०० बाट दुई हजार २०० पुग्नुबाट पाइन्छ। त्यहाँ अहिलेसम्म १४ जनाको मृत्यु भएको छ।

सर्वाधिक संक्रमण इटलीमा भेटिएको छ। त्यहाँ लोम्बर्डीमा मात्र २४ हजार ७४७ जना सङ्क्रमित भएका छन् र एक हजार २१८ जनाको मृत्यु भएको छ।

गत सोमवारदेखि सरकारले इटलीभरि मानिसहरूको आउजाउमा प्रतिबन्ध लगायो। त्यहाँ खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द छन्। विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको थियो।

स्पेनमा सात ७५३ जनामा संक्रमण देखिएको छ भने फ्रान्समा पाँच हजार४०० जनामा। युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुशरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन्।

सङ्कटकाल घोषणा गर्दै स्पेनले सर्वसाधारण नागरिकलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।

शनिवार रातिदेखि फ्रान्समा रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यकबाहेक अन्य सबै व्यवसायहरू बन्द भएका छन्।

बीबीसी नेपालीबाट

थप समाचार