Health TV Online
Health TV Online
Health TV Online

‘ब्रेन डेथ’पछिको अंगदानबारे विज्ञहरूबीच छलफल

‘ब्रेन डेथ’पछिको अंगदानबारे विज्ञहरूबीच छलफल

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा मस्तिष्क मृत्यु अर्थात् ब्रेन डेथ पछिको अंगदानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विज्ञहरूले छलफल शुरु गरेका छन्। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको छलफल कार्यक्रममा विज्ञहरुले नेपालमा ब्रेन डेथ सम्बन्धी कानून बने पनि जनमानसमा जनचेतना पुग्न नसकेको बताए ।

उनीहरुले कानून बने पनि सबैलाई जानकारी नभएकाले ब्रेन डेथपछिको अंगदान प्रभावकारी हुन नसकेको जिकीर गरे।  छलफल कार्यक्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ब्रेन डेथ सम्बन्धी कानून नै बनिसकेकाले सबै विज्ञहरुले आफनो इगो छोडेर यसलाई कसरी अघि बढाउने तर्फ लाग्नुपर्ने बताए । उनले कसले गर्ने,कुन अस्पतालमा भन्दा पनि कसरी यो अंगदानमा सर्वसाधारणलाई सहभागी बनाउने भन्नेमा जोड दिनुपर्ने बेला आएको बताए ।

यसैगरी वरिष्ठ न्यूरो सर्जन डा बसन्त पन्तले ब्रेन डेथ पछि अंगदान गर्नुपर्छ भन्नेमा धर्मगुरुहरुलाई सहभागी गराएमा बढी प्रभावकारी हुने बताए । उनले अंगदानलाई नेपालीहरुले आफनो धर्म, संस्कृतिसँग जोडेर हेर्ने भएकाले पहिले उनीहरुलाई बुझाउन सक्नुपर्नेमा जोड दिए।

यसैगरी स्वास्थ्य मन्त्रालयमा कानूनका उपसचिव पुष्करराज नेपालले हालसम्म ७ वटा अस्पतालले अंग प्रत्यारोपणको लाइसेन्स लिएको भन्दै पहिले यी अस्पतालविच नै तालमेल मिल्नुपर्ने बताए । ‘पहिले तपाइँहरू बसेर छलफल गर्नुस्’ उनले भने, ‘अनि कानूनमा केही आएमा मन्त्रालयले सहयोग गर्छ।’

कार्यक्रममा बेलायतबाट आएका प्रा डा टल्बटले आफनो देशमा ब्रेन डेथ पछि हुने अंगदानबारे अनुभव सुनाएका थिए । एक जना ब्रेन डेथ भएको व्यक्तिबाट मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्यांक्रियाज, आँखाको नानी तथा छाला लगायत अंग दान हुनसक्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार