Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना रोकथामका लागि सरकारले सार्वजनिक गर्‍यो यस्तो रणनीति

कोरोना रोकथामका लागि सरकारले  सार्वजनिक गर्‍यो यस्तो रणनीति

हेल्थ टिभी अनलाइन \काठमाडौं:  विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारी घोषणा गरेको भोलिपल्टै सरकारले कोरोना रोकथामका लागि तयार गरेको नीति तथा योजना सार्वजनिक गरेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना रोकथाम र नियन्त्रणका लागि आफुहरुले तयार पारेका योजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादव कोइरालाले कोरोना आउनै नदिन र आइहालेमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा मन्त्रालयका विशेषज्ञ टिमहरु बसेर नीति तथा योजना बनाइसकेको बताए । उनले सञ्चारकर्मीलाई सही सूचना सम्प्रेषण गरिदिन पनि आग्रह गरे ।

यसैगरी कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आफनो तयारी गरिसकेको भन्दै रोकथामका लागि योजना १ मार्फत काम गर्ने र आइहालेमा नियन्त्रणका लागि योजना २ बनाइएको बताए ।

कोरोना रोकथामका लागि योजना १ मा यस्ता छन् कार्यक्रम :
कोरोना रोकथामका लागि सर्वप्रथम प्रवेश नाकामा रोक लगाउने कार्यक्रम रहेको छ । यसैगरी कोरोना अति प्रभावित ८ वटा देश चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनीबाट आउने यात्रुलाई अनिवार्य कोरोना नभएको रिपोर्ट पेस गर्नुपर्नेछ । यसबाहेक कसैलाई पनि अन अराइभल भिषा प्रदान गरिने छैन।  यसैगरी नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलन केही समयका लागि स्थगित गर्न आव्हान गरिएको छ । यो सँगै नागरिक सचेतना कार्यक्रम पनि बढाइने योजनामा राखिएको छ । सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको छ । चीन र भारतसँग सिमा जोडिएका ४३ वटा हेल्थ डेस्क मार्फत नेपाल प्रवेश गर्नेहरुको स्क्रिनिङ भइरहेको छ।

योजना २ अन्तर्गत यस्ता छन् कार्यक्रम:
नेपालमा कोरोना संक्रमण देखिएमा तीन किसिमको अवस्थाको आँकलन गरी व्यवस्था मिलाइएको योजनामा उल्लेख छ । यसमा आइसोलेसन वार्ड, औषधि उपचार र जनशत्तिको अनुमान सहितको योजना अघि सारिएको छ । यदि कोरोना फैलिएमा आवश्यक उपचार गर्न टेकु अस्पताल, पाटन अस्पताल र प्रहरी अस्पताललाई प्रमुख अस्पतालका रुपमा तयारी अवस्थामा राखिएको छ । महामारी फैलिएमा नेपालमा केही समयका लागि हवाइ उडानहरु बन्द गरिनेछ । उक्त पकेट एरियालाई लक डाउन गरिनेछ । स्थलगत आवागमनका पनि नाकाहरु सम्पूर्ण रुपमा बन्द गरिनेछ । आवश्यक परेमा मोबाइल वा फिल्ड अस्पताल बनाई उपचार सहज बनाइनेछ भन्ने योजना २ मा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार