कञ्चनपुरको पिपलाडीमा १५ शय्याको अस्पताल
हेल्थ टिभी अनलाइन\कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पताल बनाइने भएको छ।
स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ। नगरपालिका–४ का अध्यक्ष ज्ञानबहादुर विष्टले अस्पताल निर्माणका लागि कन्सलटेन्सीमार्फत विस्तृत परियोजना प्रतिवेदन निर्माण अगाडि बढाएको बताए।
तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वास्थ्यचौकीमा रहेका भवनको स्तरोन्नति गरी सेवा सञ्चालनका लागि ३८ लाख रुपैयाँ परिचालन गरेको छ। प्रदेश मन्त्रालयबाट प्राप्त बजेट परिचालन गरी स्वास्थ्यचौकीका पुरानो भवन स्तरोन्नति गर्न ठेक्का प्रक्रियामार्फत निर्माणको कार्य अगाडि बढाएको विष्टको भनाइ छ।
संघीय सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा २५ लाख रूपैयाँ लागतमा २४ घण्टे बर्थिङ सेन्टर भवन निर्माणका लागिसमेत काम अगाडि बढाइएको छ। बर्थिङ सेन्टर निर्माणका लागि लाग्ने कुल लागतको २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले बताए।
स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएपछि सर्वसाधारणले विशषज्ञसहितको चिकित्सकीय सेवा पाउने भएका छन्। कञ्चनपुरका कृष्णपुर र वेदकोटको दैजी स्वास्थ्यचौकीको समेत स्तरोन्नति गरी अस्पताल बनाउन काम अगाडि बढाइएको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त